चितवन । नेकपा (एमाले)बाट भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्षका उमेदवार विकास थापाले विपी नगर वनलाई ब्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । नारायणी पुलवाट करिव एक किलोमिटर दक्षिणतर्फ रहेको नदी बीचको टापु जङ्गललाई ब्यवस्थित गरि महानगरकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘कतिपय रुखहरु समेत कटान भई वनक्षेत्र झाडिमय छ, ठूला रुखको संरक्षण गर्दै बायाँ तर्फको भङ्गालोलाई तालमा परिणत गरी नौकाविहारको सेवा दिन सकिन्छ । वनमा गैंडा समेत देख्न पाईन्छ । तर बिपी नगर वनको ब्यवस्थित संरक्षण हुन सकेको छैन । अध्यक्ष भए पश्चात यसलाई ब्यवस्थित गर्ने योजना बनाएको छु’, थापाले भने ।
भरतपुर–३ मा नारायणगढ बजारको पुल्चोक, शहिदचोक, लायन्सचोक, बेलचोक, बारघरेलगायतका स्थान पर्दछन् । ढल निकास सहितको सडकको स्तरोन्नति, पुंगी खोलाको संरक्षण, नहर छेउमा आईटि पार्क, स्थानीय ब्यवसायीको हकहित प्रवद्र्धन लगायत विभिन्न एजेन्डा रहेको उनले बताए ।
ट्राफिक ब्यवस्थापन, सिसिटिभि जडान, स्मार्ट सडक बत्ती र फोहोर व्यवस्थापनका बिषयमा पनि स्पष्ट कार्ययोजना रहेको उनले जानकारी दिए । थापा स्थानीय जनता माझ लोकप्रिय छन् । समाजमा पर्ने हरेक किसिमका समस्याहरुको सामाधानमा उनले अगुवाको भुमिका खेल्दै आएका छन् । थापा नजन्मिदै २०२२ सालमा उनको परिवार गोरखाबाट चितवन बसाइँसरी आएको हो । आफू भिमसेन थापाको नवौ पुस्ताको सन्तान रहेको थापाले सुनाए ।
‘मसँग वडाको बिकास र समृद्धिका योजना कार्यान्वयन गर्ने उर्जा र हिम्मत छ । अध्यक्ष पदमा बिजयी गराइदिन सम्पूर्ण वडावासीमा अपिल गर्दछु’, उनले भने । ४४ वर्षीय थापाले समाजशास्त्रमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको दुई कार्यकाल सदस्य, भगवती टोल सुधार समितिको सल्लाहकार, लायन्स क्लव अफ चितवन गोल्डेनको अध्यक्ष लगायतका सामाजिक भुमिका निभाएको अनुभव पनि उनीसँग छ ।
एमालेका उमेदवार थापाका मुल प्रतिस्पर्धी कांग्रेसका भरतप्रसाद लामिछाने देखिन्छन् । तर, कांग्रेसकै तारामित्र पण्डित अध्यक्षका वागी उमेदवार रहेकाले थापा ‘सहज जोन’मा रहेको स्थानीयको बुझाई छ । वडामा चार हजार ९११ जना मतदाता रहेका छन् । आफूलाई सबै राजनीतिक आस्थाका मतदाताले भोट दिने थापाले विश्वास ब्यक्त गरे । एमालेबाट वडा सदस्यहरुमा कमलादेवी बोलखे, कृति रिमाल, महेन्द्र तिवारी र शुक्रमान लामाको उमेदवारी छ ।