चितवन । भरतपुर महानगरमा मेयरमा उठेका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेल र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । रामचन्द्र पौडेल आफैँले जगन्नाथलाई आफू बसेको भरतपुरको एक होटलमा बोलाएका थिए । भेटमा नेता पौडेलले जगन्नाथलाई उमेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
‘अझै पनि मौका छ, उमेदवारी फिर्ता लिएर गठबन्धनका उमेदवारलाई सघाउन तयार हुनूस्’ नेता पौडेलले जगन्नाथलाई भनेका स्रोतको भनाइ छ । जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिने अडान लिएका कांग्रेसका एक नेता बताउँछन् । ती नेता भने, ‘रामचन्द्र पौडेल दाइले उमेदवारी फिर्ता लिन भन्नुभयो, उहाँले मान्नुभएन ।’ उल्टो जगन्नाथले रेनु दाहाललाई उमेदवारी फिर्ता लिन भन्नु भनेर रामचन्द्र पौडेललाई भनेका ती नेता बताउँछन् ।
रामचन्द्र पौडेलले जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मिना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई भेटेका थिए । कसैले पनि उमेदवारी फिर्तामा सहमत जनाएनन् । जगन्नाथ पौडेल उमेदवारी फिर्ता नलिने भन्दै होटलबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पौडेललाई भेट्ने कुरा भए पनि हालसम्म भेटघाट भएको छैन । प्रधानमन्त्री देउवा गठबन्धनको आज हुने चुनावी सभामा चितवनमा छन् ।