चितवन । भरतपुर महानगरपालिकामा मेयरका उमेदवार रेनु दाहाल र विजय सुवेदी दुबैको प्रतिबद्धतापत्र सार्वजनिक भइसकेको छ । राप्रपा र एमाले गठबन्धनबाट मेयरको उमेदवार बनेका सुवेदीले एक साताअघि नै प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् भने सत्तारुढ गठबन्धनबाट उमेदवार बनेकी रेनु दाहालले आज प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छन् ।
रेनु दाहालको प्रतिबद्धतापत्रमा के छ ?
सत्तारुढ गठबन्धनबाट उमेदवार बनेकी दाहालले अधिकांश पुरानो कामलाई नै पूरा गर्ने प्रतिबद्धता गरेकी छन् । उनले भनिन्, ‘अपूरा काम नै पूरा गर्ने मेरो प्रतिबद्धता रहन्छ, समृद्ध भरतपुरको योजना नै मैले लिएर हिँडेकी छु ।’
गठबन्धनको प्रतिबद्धतामा महानगरमा सार्वजनिक इलेक्ट्रिक बस सेवा सञ्चालन गरिने र ७० वर्ष नाघेका वृद्धवृद्धा, अपाङ र महिलालाई निःशुल्क बस सेवा उपलब्ध गराइने दाहालले बताइन् । उनका अनुसार गोन्द्राङ, पोखरा बसपार्क, धु्रब, गोलाघाट, रातापुर, शुक्रनगर र गंगानगरमा इलेक्ट्रिक बसका लागि चार्जिङ स्टेशन रहनेछन् ।
विद्यार्थीलाई ५० प्रतिशत छूटमा बस सेवा उपलब्ध गराइने उनको भनाइ छ । महिलाहरुलाई उद्यमशील बनाउन बैंकबाट ऋण तथा महानगरबाट अनुदान उपलब्ध गराउने उनको प्रतिबद्धतापत्रमा छ ।
महिलालाई सिलाई, बुनाई, गारमेन्ट तथा थाङ्कालगायत स्थानीयतामा आधारित उद्योगका लागि तालिम दिई घरघरमै रोजगारी दिइने दाहालले प्रतिबद्धता जनाइन् । त्यस्तै, महिलाहरुको नेतृत्व विकासका लागि सीप अभिमुखीकरण गराउने, एक वडा एक महिला उद्यम सञ्चालन गरी महिलाहरुलाई स्वरोजगार बनाइने तथा एकल महिलाका सन्ततिका लागि उद्यमशीलता वृद्धिका कार्यक्रम ल्याइने प्रतिबद्धतापत्रमा उल्लेख छ।
डिजिटल महानगर बनाउन, किसान पेन्सन ग्यारेन्टी, कक्षा १२ सम्म निःशुल्क शिक्षा, छोरी शैक्षिक बिमा, कृषिको औद्योगिकरण, ज्येष्ठ नागरिक र अशक्तहरुलाई घरदैलोमा स्वास्थ्य सेवा, वडामा सुविधासम्पन्न अस्पताल, शिक्षा र स्वास्थ्यमा सबैको पहुँच, फोहोरको स्मार्ट व्यवस्थापन, डिजिटल महानगर, एसियाली मापदण्डको भौतिक पूर्वाधार, बेरोजगारमुक्त भरतपुर बनाउने रेनु दाहालले प्रतिबद्धता जनाएकी छन् ।
यस्तै, पर्यटन क्षेत्रको विकास, केही महिनाभित्रै इलेक्ट्रिक बस सेवा, समृद्धिको लागि वन कार्यक्रम, सक्षम, स्वस्थ र सुरक्षित महिला एवम् बालिबालिका, भरतपुर महानगर देशकै खुलकुद केन्द्र बनाइनेलगायतलाई रेनु दाहालले आफ्नो प्रतिबद्धतापत्रमा राखेकी छन् ।
विजय सुवेदीको प्रतिबद्धतापत्रमा के छ ?
भरतपुर विमानस्थनस्थलको स्थानान्तरणदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको कामलाई पूर्णता दिनेसम्मका योजना विजय सुवेदीले प्रतिबद्धता गरेका छन् । सुवेदीले भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रुटहरूमा ट्रली बस चलाउने प्रतिबद्धता गरेका छन् ।
रेल प्रणालीको सम्भाव्यताबारे अध्ययन गर्ने, भरतपुर विमानस्थललाई स्थानान्तरण गर्ने र उक्त स्थानलाई हरित क्षेत्र, उच्च प्रविधियुक्त व्यवसायिक क्षेत्र र खुला शहरी क्षेत्र (टुँडिखेल) का रुपमा उपयोग गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त विकल्प कार्यन्वयन गर्न संघीय सरकारसँग समन्वय गर्ने उनको प्रतिवद्धतापत्रमा समेटिएका छन् ।
नारायणी नदीमा रहेको हालको पुलको विकल्पमा सिग्नेचर पुल निमार्ण गर्न र सम्भाव्यताको अध्ययन गरी नवलपुरसँग जोड्ने गरी थप पुलको व्यवस्था मिलाउन समन्वय गर्ने, नदी किनारमा चौडा बाँध–सडक निर्माण गरी समग्र करिडोरमा आकर्षक र सुन्दर सहरी विकासका योजना मार्फत नारायणी तथा राप्ती नदी स्रोतको अधिकतम सदुपयोग गर्ने उल्लेख छ ।
एमालेले भरतपुरका बहुआयमिक सम्भावना तथा अवसर रहेको बताउँदै नारायणी र राप्ती नदीको किनारमा रहेको भरतपुरमा व्यवस्थित शहरी विकास परियोजना बनाई अन्तर्राष्ट्रिय मापदण्डको समृद्ध सहर बनाउन सकिने सुवेदीले बताए । प्रस्तावित पूर्व–पश्चिम रेल यातायातको केन्द्र, चीन र भारत बीच व्यापारिक कोरिडोरको रूपमा प्रस्तावित ठोरी केरुङ राजमार्ग निर्माण गरी क्रमिक रुपमा आर्थिक राजधानी तथा प्रमुख वातावरणमैत्री औद्योगिक व्यापारिक केन्द्रको रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
नारायणी राप्तीको तटबन्धन गरी, तटीय आवास, तटीय सडक, हरियाली किनार, जलक्रीडा र जल यातायातको विकास गर्दै एकीकृत र बहुउद्देशीय विकास गर्न सकिने प्रतिबद्धता पत्रमा समेटिएका छन् । एमालेको प्रतिवद्धतापत्रमा भरतपुर महानगरको शहरी विकासको २० वर्षे दीर्घकालीन गुरुयोजना, गुरुयोजनाको अधिनमा रही भौतिक विकासका क्षेत्रगत योजना, समग्र महानगरको सडक सञ्जालको योजना, खानेपानी तथा ढल निकासको योजना, वर्षाको पानी तथा बाढी निकासका लागि सञ्जाल (नेटवर्क) को योजना, प्रमुख नयाँ बजार केन्द्र लगायत हरेक वडामा स्थानीय बजार केन्द्र विकासको योजना, खुला क्षेत्र र सार्वजनिक पार्क विकासको योजना, शिक्षा, स्वास्थ्य अन्य सामाजिक सेवा सुधारको योजना, पर्यटन विकास तथा सांस्कृतिक संरक्षणको योजना तय गर्ने उल्लेख छ ।
समग्र महानगर क्षेत्रमा स्मार्ट सडक बत्तिको व्यवस्था गर्ने, समग्र महानगर क्षेत्र समेटेर सार्वजनिक यातायातको रुट निर्धारण गर्ने र सार्वजनिक यातायातका निजी सञ्चालकसँगको सहकार्यमा सुविधा सम्पन्न नगर बस सञ्चालन गर्ने उल्लेख छ ।
नारायणगढदेखि गोलाघाटसम्म नारायणी नदी किनारमा र गोलाघाटदेखि पटिहानीसम्म राप्ती नदीमा तटबन्ध गरी सडक, आवास, ग्रीन्बेल्ट, बिजुली लगायतका पूर्वाधार, जलयातायात, मनोरंजन लगायतका एकीकृत विकासको परियोजना तयार गरी निर्माण अगाडि बढाउने उल्लेख छ । चक्रपथ क्षेत्रमा पर्ने बजारहरूमा हरियाली पार्कहरू निर्माण गरिनेछ । भरतपुरको मुख्य बजार क्षेत्रलाई आधार मानेर भित्री चक्रपथ निर्माण गरिनेछ । चक्रपथहरूमा साइकल र फुटपाथ लेनको समेत व्यवस्था गरिनेछ ।
महानगरपालिकाभित्रका सबै सडकहरू कालोपत्रेसहित स्ट्रिट फर्निचर राख्ने , बसपार्क चोक, हाकिमचोक, चौविसकोठी, वीरेन्द्र क्याम्पस आगाडी, सहिद चोक, पुल्चोक, पोखरा बसपार्क, बाइपास रोडको मालपोतचोक, नहर चोक, विशाल चोक लगायतका स्थानमा प्राथमिकता आधारमा क्रमशः आकाशेपुल निर्माण गर्ने प्रतिबद्धतापत्र सुवेदीले सार्वजनिक गरेका छन् ।