चितवन । नेकपा एमालेका उमेदवारहरु भरतपुर १२ को घरदैलोमा पुगेका छन् । एमालेका उमेदवारहरु घर पुग्दा मतदाताले ढलसहितको सडक विकासको माग गरेका थिए । घरदैलोमा देखिएको मतदाताको मागले उमेदवारलाई उत्साहित बनाएको एमालेले जनाएको छ ।
एमालेका वडाध्यक्षका उमेदवार लेखराज पन्तसहित सदस्यका उमेदवारहरु घरदैलोमा जुटेका छन् । सहयोगी टोल र सुनगाभा टोलमा मतदाताका घरघरमा पुगी उम्मेदवारहरुले मत मागेका छन् । उमेदवार पन्तले भने, ‘म वडावासीको सेवक भएर काम गर्नेछु, मतदाताको सद्भावले खुसी छु ।’ सामाजिक कार्यका सबै अनुभव र वडाको समुन्नत विकासको एजेन्डा नै आफूहरुको जीत हासिल गर्ने मुख्य आधार रहेको अध्यक्ष उम्मेदवार पन्तको दावी छ ।
घरदैलो कार्यक्रम मार्फत उम्मेदवारहरु सबै वडावासी मतदाता माझ पुग्ने एमाले वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपानेले बताए ।
भरतपुर–१२ मा एमाले र राप्रपाबीच सहकार्यसमेत छ । सोही बमोजिम वडा अध्यक्ष र तीन जना सदस्य एमालेबाट र एक जना सदस्य राप्रपाबाट उम्मेदवार छन् । चुनावी सहकार्य भएका कारण सामूहिक ढंगबाट नै घरदैलो कार्यक्रम चलिरहेको एमाले वडा कमिटी सचिव शोभा पण्डितले जानकारी दिइन् ।