चितवन । चितवनको कालिका नगरपालिका खोलेसिमलबाट गोर्खा गएको जन्ती जिप दुर्घटनामा मृत्यु हुने तीन जनाको सनाखत भएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटेमा चितवनबाट जन्ती लिएर गएको जीप भीरबाट २०० मिटर तल खसेको थियो ।
बा १४ च ७८१ नम्वरको स्करपिओ जिप जन्तीहरुलाई चढाउनेक्रममा भीरबाट खसेको गोर्खा प्रहरी प्रमुख केदार खनालले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ बनस्थलीका ५० वर्षका पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट ५ चनौटेका ४५ वर्षका देवीप्रसाद पोखरेल र नवलपरासीको कावासोती नगरपालिका–१४ का ८० वर्षका उत्तरकुमार सिग्देल रहेका गोर्खा प्रहरीले जनाएको छ । जिप चालक भरतपुर २७ धरमपुरका घनश्याम काफ्ले सकुशल छन् ।
प्रहरी प्रमुख खनालका अनुसार चालकले जिप स्टार्टमै राखेर वृद्धलगायत जन्ती चढाउनको लागि ढोका खोलेर राख्नेक्रममा पछाडि जिप आफैँ गुड्दै गएर भीरबाट खसेको हो । जन्ती बोकेको गाडी र बेहुलाबेहुलीको जिप पहिले नै सिरानचोकबाट चितवनको लागि हिडिँसकेको थियो । जन्ती बोकेको अन्तिम जिप नै दुर्घटनामा परेको हो ।