चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले भरतपुरमा आफू निर्वाचित भए गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् ।
नेकपा (एमाले) भरतपुर–१२ ले आज आयोजना गरेको चुनावी कोणसभामा बोल्दै मेयर पदका उम्मेदवार सुवेदीले गर्भवतीको पोषणका लागि भत्ता दिइने घोषणा गरेका हुन् । आमाहरुको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती नगरवासीहरुको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताए ।
‘आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औँसी पनि हो, सबै आमाहरुप्रति सम्मान छ’ सुवेदीले भने, ‘यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा हरेक गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु ।’
निस्वार्थ, निष्पक्ष ढंगले काम गरी महानगरमा सुशासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको उनले बताए । भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा भरतपुर–१२ का वडा अध्यक्ष उम्मेदवार लेखराज पन्त ‘हरि’ले वडावासीको सेवा गर्न आफू उमेदवारका रुपमा खडा भएको बताए ।
वडा कमिटी इन्चार्ज शेषमणि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता डा तीलचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपानेलगायतले बोलेका थिए । कार्यक्रम पार्टी वडा कमिटी सचिव शोभा पण्डितले सञ्चालन गरेकी थिइन् ।