चितवन । चुनाव चिन्ह ‘भुइँकटहर’ पाएसँगै भरतपुर महानगरका मेयरका उमेदवार जगन्नाथ पौडेलले चुनावी अभियान सुरु गरेका छन् । आज उनले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएका छन् ।
चुनाव चिन्ह भुइँकटहर पाएपछि उमेदवार पौडेलले भरतपुरस्थित क्यान्सर अस्पताल परिसरमा रहेको बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए । नेपाली कांग्रेसका चारतारे झण्डा बोकेर बिपी कोइरालाको शालिक अगाडि उभिएर उनले रुखको विरुद्ध उमेदवारी नदिएको बताए ।
उनले भने, ‘रुखमाथि अन्याय भयो, कांग्रेसका कार्यकर्तामाथि अन्याय भयो, त्यसैले मेरो उमेदवारी परेको हो, कांग्रेसको विरुद्धमा मेरो उमेदवारी होइन ।’ कांग्रेस पार्टीभित्र झाँगिँदै गएको विकृतिविरूद्ध उभिन पनि सबैलाई आह्वान गरेका थिए । महानगरपालिकाका २९ वटै वडामा निर्वाचनको प्रचार समिति बनाएर अघि बढ्ने बताए ।