चितवन । विवेकशील साझा पार्टीबाट भरतपुर महानगरको मेयरमा उमेदवारी दिएका प्रविन काफ्लेले नेपालको झण्डा बोकेर घरदैलो कार्यक्रम गरिरहेका छन् ।
इरिक्सा चढेर उमेदवारी दर्ता गरेर चर्चा कमाएका काफ्ले मेकानिकल इन्जिनियर हुन् । महानगरका जनताले मेयरमा निर्वाचन गराए दुई वर्षभित्र भरतपुरलाई डिजिटलको सहर बनाउने प्रतिबद्धता काफ्लेले गरेका छन् । उनी भन्छन्, ‘जनताको जीवनस्तर नै हाम्रो प्रचारप्रसारको शैली र खर्चको मापदण्ड हो।’
२८ वर्षमा उमेदवार बनेका काफ्लेले भने, ‘भुइँमान्छेको आवाज बोकेर घरदैलोमा छु, बिना तड भडक निर्वाचन अभियानमा लागेको छु । युवापुस्ताको भावना बोकेर हिँडेको छु ।’ उनले संसारमा हामी धेरै पछि परिसक्यौ भन्दै अब नागरिकका आवश्यकताभन्दा पर गएर राजनीति गर्ने छुट कसैलाई पनि नभएको बताए ।
उनले अबको युवा नेतृत्वले भ्रष्टाचार शुन्य, शुसासन, पारदर्शिता, जवाफदेहिताको पूर्ण पालना गर्ने वाचा व्यक्त गरेका छन्। भरतपुरलाई आगामी २ बर्षमा पूर्ण रुपमा डिजीटल तथा प्रविधिमैत्री सहर बनाउने भन्दै आयात घटाउन विद्युतीय सवारी साधनको प्रयोग गर्नमा जोड दिने बताए ।