चितवन । नेकपा (एमाले) भरतपुर महानगर प्रचार समितिले भरतपुरमा एमाले उम्मेदवारहरुको पक्षमा जनलहर व्यापक रहेको भन्दै जीत सुनिश्चित रहेको निश्कर्ष निकालेको छ ।
समितिको आज बसेको बैठकमा संयोजक तेजेन्द्र खड्काले भरतपुरमा एमाले उम्मेदवारप्रति आकर्षण दिनानुदिन बढेको उल्लेख गरे । पार्टीले जनतामाझ लगेको एजेन्डा र अघि सारेका उम्मेदवारका ब्यक्तित्वका कारण जनआकर्षण बढ्दै गएको खड्काले बताए । ‘महानगरको बिकास र समृद्धिका लागि पनि एमालेसँग नै आशा बढी छ, मेयर उम्मेदवार विजय सुवेदीसहित अन्य उम्मेदवारहरुको व्यक्तित्व पनि आकर्षक छ । जीत निश्चित देखिएको छ’, खड्काले भने ।
बैठकले पार्टीका उम्मेदवारहरुको प्रचारप्रसारलाई थप ब्यवस्थित र अझ प्रभावकारी बनाउने निर्णय गरेको समितिका सचिव हरिप्रसाद पोखरेलले जानकारी दिए । विपक्षी प्रतिस्पर्धीभन्दा एमालेका उम्मेदवारहरु भरतपुरमा हरेक कोणवाट जनतामाझ अब्बल देखिएको समितिको बुझाई छ । ‘भरतपुरको हालको बस्तुगत अवस्थाले स्पष्ट भनेको छ कि, मेयर उम्मेदवार बिजय सुवेदीसहित सबै उमेदवारहरुको जीत नजिक छ’, समिति सचिव पोखरेलले भने ।