चितवन । माडी नगरपालिकाका तीन जना वडाध्यक्षले दोहोरो सुविधाबापतको रकम फिर्ता नगरी कार्यकाल पूरा गर्न लागेका छन् । माडी नगरपालिकाका पाँच वटा वडाका अध्यक्षले राज्यबाट पेन्सन र वडाध्यक्ष दुवैको सुविधा लिएका थिए । तीमध्ये दुईवटाका वडाअध्यक्षले दोहोरो सुविधा बापतको रकम फिर्ता गरिसकेका छन् । तर, तीन जनाले भने कार्यकाल पूरा गर्न लाग्दा पनि सो रकम फिर्ता गरेका छैनन् ।
वडा नम्बर २ का अध्यक्ष ईश्वरी प्रसाद ढकाल, वडा नम्बर ४ का अध्यक्ष चन्द्रदीप महतो र वडा नम्बर ७ का अध्यक्ष बालकृष्ण सापकोटाले अहिलेसम्म दोहोरो सुविधा बापतको रकम फर्काएका छैनन् । उनीहरूले वडाध्यक्ष वापतको मासिक सुविधा २१ हजार रुपैयाँका दरले लिएका थिए भने पेन्सनबापत ढकालले मासिक १२ हजार ८ सय रुपैयाँ, महतोले मासिक १४ हजार ७ सय २ रुपैयाँ र सापकोटाले मासिक १८ हजार ७ सय ३१ रुपैयाँ बुझेका थिए ।
वडाअध्यक्ष निर्वाचित भएपछि २०७४ जेठ महिनादेखि २०७६ असार सम्म उनीहरूले मासिक रुपमा लिएको दोहोरो सुविधा बापतको रकम फिर्ता गर्न महालेखा परीक्षकको कार्यालयले भनेको थियो । महालेखाका अनुसार दुई वर्षसम्म लिएको दोहोरो सुविधा हिसाब गर्दा इश्वरीप्रसाद ढकालको ३ लाख ३२ हजार ८ सय रुपैयाँ, चन्द्रदीप महतोको ३ लाख ८२ हजार २ सय ५२ रुपैयाँ र बालकृष्ण सापकोटाले ४ लाख ८७ हजार ६ रुपैयाँ फिर्ता गर्नुपर्छ ।
स्थानीय सरकार सञ्चालन ऐनले कुनै पनि नागरिकले राज्यको दोहोरो सुविधा लिन नपाउने र दुई मध्य रोजेर एक मात्रै सुविधा लिन सक्ने स्पष्ट उल्लेख गरेको छ । तर, पूर्व शिक्षक समेत रहेका वडा अध्यक्षहरूले अहिलेसम्म दोहोरो सुविधा वापतको रकम फिर्ता नगरेका हुन् । ढकाल र महतो नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् भने सापकोटा नेकपा समाजवादीका वडाअध्यक्ष हुन् ।
बाँकी दुईजना वडा अध्यक्ष कृष्णराज अधिकारी र शिवहरी सुवेदीले पहिले जानकारी नभएर दोहोरो सुविधा लिएको भन्दै उक्त रकम फिर्ता गरिसकेका छन् । स्रोतः आइएनएस न्यूज