चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल पक्का हुने भएको छ। आइतबार र आज सोमबार बिहान भएको लामो छलफलले तालमेलको टुंगो लगाएको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बताए । उनका अनुसार माडीमा पनि राप्रपा र एमालेबीच तालमेल गर्न छलफल चलिरहेको छ । दिनभर दुई दलबीच भएको छलफल तालमेल गर्ने सहमति भएको हो ।
भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।
सहमति अनुसार राप्रपाले महानगरको वडा नं। १५ र २६ को वडाध्यक्ष पाउने छ । वडा नं। ४,११, १६,१९ र २४ मा दुबै दलका वडाध्यक्ष उम्मेदवार रहनेछन् । यी वडामा मित्रवत प्रतिस्पर्धा हुने एमालेले जनाएको छ ।