चितवन । विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयरमा २८ वर्षका युवा इन्जिनियरलाई उठाउने भएको छ । शनिबार बसेको जिल्ला सदस्यको भेलाले निकै उर्जावान, तीक्ष्ण, अनुभवी तथा भिजन भएका युवा प्रविन काफ्लेलाई सर्वसम्मत रुपमा महानगरको उम्मेदवारको रुपमा अगाडि सारेको हो। महानगरकै उम्मेदवारमध्ये सबैभन्दा कान्छा उम्मेदवार हुन सक्छन् उनी ।
को हुन् प्रविन काफ्ले ?
काफ्ले चितवनका निकै स्पस्ट, इमान्दार, बैचारिक तवरले क्षमतावान तथा राजनीतिक सम्भावना बोकेका युवा हुन्। २८ बर्षीय युवा प्रबिन काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिंगमा स्नातक गरी स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिंदै केही वर्षदेखि आफ्नै उद्यम गरिरहेका छन्। उनले बिगत ३ वर्षदेखि पार्टीको हरेक अभियानमा नेतृत्व लिंदै केही वर्षयता चितवन जिल्ला संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।
देशभित्र युवा नेतृत्वको बारम्बार वकालत गर्ने उनका अभियानहरु निकै सिर्जनशील हुने गर्दछन। उनी तातो भात अभियानका योजनाकार पनि हुन् । जसले भरतपुरमा २८ दिनसम्म निरन्तर कोभिड संक्रमित बिरामीका कुरुवाहरु तथा न्युन आयश्रोत भएका नागरिकलाई निशुल्क खाना खुवाए। संगसंगै, चितवनका हरेक सामाजिक, राजनीतिक घटना तथा समस्याहरुप्रति चासो र चिन्ता राख्दै गम्भिरतापूर्वक समाधानमुखी राजनीति गर्ने संकल्प बोकेका युवा राजनीतिज्ञ हुन्।