चितवन । राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले राप्ती नगरपालिकामा भ्रष्टाचार भयो भन्नेहरुलाई प्रमाणसहित आउन चेतावनी दिएकी छन् । चितवन प्रेससँगको कुराकानीमा उनले भनिन्, ‘भ्रष्टाचार भयो भनेर आरोप लगाउँदैमा हुन्छ ? प्रमाण देखाउन पर्दैन ? प्रमाणसहित आउनुहोस् जवाफ दिन तयार छु ।’ उनले राप्ती नगरपालिकामा एक रुपैयाँ भ्रष्टचार भएका देखाउन चुनौतीसमेत दिइन् ।
उनले भनिन्, ‘चुनावको मुखमा मिडियामा आरोप लगाएर कोही ठूलो मान्छे हुँदैन, प्रमाण देखाउन सक्नुपर्छ, आरोपको लागि आरोपको कुनै अर्थ छैन, पाँच वर्षको अवधिमा प्रभा बरालले राप्तीमा केके काम गरिन् भन्ने कुरा राप्ती नगरवासीलाई थाहा छ ।’
दुई दिनअघि चितवन प्रेससँगको कुराकानीमा राप्ती नगरपालिकामा २०७४ मा मेयर पदका उम्मेदवार बनेर उपविजेता भएका किरणभुषण ओलीले राप्ती नगरपालिका भ्रष्टाचारमा चुर्लुम्मै डुबेको आरोप लगाएका थिए । उनको आरोपको खण्डन गर्दै नगर प्रमुख बरालले चितवन प्रेससँग यसो भन्छिन्, उनकै शब्दमा जस्ताको त्यस्तै ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको पहिलो सरकारको रुपमा काम गरेको हुनाले हामीले अति आवश्यक र पहिलो प्रथामिकतामा राखेर गर्नुपर्ने कामहरुलाई छुट्याउँदै गयौँ । सबैभन्दा पहिला जनतालाई सेवा दिने कार्यालय नै थिएन त्यो कार्यालय बनाउने काम गरियो । त्यसपछि नगरपालिका भवन र सबै वडा कार्यालयहरु निर्माण गर्ने काम भए । नगरपालिकामा हुनुपर्ने आवश्यक पुर्वाधारहरु केही पनि थिएनन् । अस्पताल, स्वास्थ्यचौकी, बाटो नपुगेको ठाउँमा बाटो विस्तार, किसानहरुलाई सिँचाइको व्यस्था, कुलो निर्माण, खोलानालामा तटबन्धन गरियो ।
शिक्षाको क्षेत्रमा कुरा गर्ने हो भने ५० वटा सामुदायिक विद्यालयहरुमा भवन बनाइयो । पुल निर्माण, शौचालय निर्माण, विद्यालयमा ल्याबको व्यवस्था गरियो। समस्याग्रस्त वडा १०, ११, १२ र १३ मा अति सिमान्तकृत वर्ग छन्, त्यहाँका विद्यार्थीलार्ई विद्यालयमा निःशुल्क खाजाको व्यवस्था गरियो । न्यानोको लागि कपडा वितरण गरियो । सबै विद्यार्थीलाई विद्यालय भर्ना गराउने अभियानमा जुट्यौँ । बीस वर्ष कटेका पढ्दै गरेका तर विवाह नगरेका किशोरीहरु लक्षित कार्यक्रम र विद्यालयमा शिक्षिका सुत्केरी बिदा बस्दा विद्यार्थीलाई असर नपरोस भनेर सट्टा शिक्षक राख्ने व्यवस्था ग¥यौँ । यी त सामान्य काम हुन् । गर्नैपर्ने कामभित्र परेका यस्ता कामहरु राप्ती नगरपालिमा भएका छन् ।
२०४६ सालभन्दा अघिबाट निरन्तर काम गर्दै आएका बाल शिक्षकको तलब ३ हजार रुपैयाँ मात्रै थियो । यो श्रम शोषण हो । श्रम ऐनभित्र रहेर उहाँहरुलाई मासिक १५ हजार रुपैयाँ दिनुपर्छ भनेर निर्णय गरायौँ। स्वास्थ्य, शिक्षा, खानेपानी, बाटो विस्तारका काम धेरै गरेका छौँ । यो हाम्रो सुरुवातको समय पनि हो। २०७२ सालको भूकम्पका कारण भत्किएका संरचना निर्माण सम्पन्न गरियो ।
कोरोना भाइरसको महामारीको बेला सबैभन्दा बढी प्रभावित भएको राप्ती नगरपालिका पर्छ । कोभिडको समस्या समाधान र पूर्व तयारीका लागि सात वटा एम्बुलेन्स परिचालन गरी बाहिरबाट नगरपालिकामा प्रवेश गर्नेहरुलाई नाकाबाट ल्याउने र क्वारेन्टिनको व्यवस्था गरी राख्ने काम भयो । आइसोलेसन तथा बिरामीलाई उपचारको व्यवस्था गर्नेलगायतका कामहरु भए । अहिले नगरपालिकाका २६ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप पनि लगाइसकेका छन् । महामारीको व्यवस्थापन र पूर्वतयारीका साथ सफल रुपमा काम गरेका छौँ ।
चुनावको मुखमा मिडियामा आरोप लगाएर कोही ठूलो मान्छे हुँदैन, प्रमाण देखाउन सक्नुपर्छ, आरोपको लागि आरोपको कुनै अर्थ छैन, पाँच वर्षको अवधिमा प्रभा बरालले राप्तीमा केके काम गरिन् भन्ने कुरा राप्ती नगरवासीलाई थाहा छ ।
कार्यकालको ४ वर्षमा विशेषगरी महिला बालबालिका जेष्ठ नागरिक, शिक्षा स्वास्थ्य र पूर्वाधार विकासका कामलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर योजनाबद्ध रुपमा काम गरेका छौँ । नगरपालिकाको गुरुयोजना र प्रोफाइल बनाएका छौँ । नगरपालिाका बालालिकाको लागि बाल कोष स्थापना, महिला लैङ्गिक हिंसालगायतलाई रोक्न ३६ वटा समिति बनाएर काम गरेका छौँ ।
हाम्रा निर्णयहरु सबै खुल्ला हुन्छन् । सल्लाहकारले पास गरेका विषय र निर्णय, महालेखा परीक्षण गरेका कुराहरु यी सबै खुल्ला छन् । म मेरा प्रतिद्वन्दीलाई के भन्न चाहन्छु भने हुन त चुनावको बेलामा वा अरु बेलामा हामीले हरेक वर्ष समीक्षा गर्दा सबै राजनीतिक पार्टीलाई बोलाएर समीक्षा गर्दा उहाँहरुले भन्ने कुनै ठाउँ नै छैन भन्नुहुन्छ । चुनावको बेलामा भ्रम फिँजाउने र भ्रमको खेती गर्ने त उहाँहरुको चलन नै हो । हामीले सामाजिक विकासका क्षेत्रमा उत्कृष्ट काम गरेको हुँदा हामीलाई उहाँहरुकै सरकार प्रधानमन्त्री शेरहादुर देउवाले पुरस्कृत गर्नुभएको छ ।
अहिले ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका दिन महिलाले नेतृत्व गरेका नगरपालिकाहरु भ्रष्टाचाररहित शून्य नगरपालिका भनेर राप्तीलाई एउटा सर्वेक्षणले पनि भनिसकेको छ । यस्तो नगरपालिकालाई भ्रष्टचारमा चुलुम्मै डुब्यो भनेर कसरी भन्न सक्नुभएको हो ? अचम्म लाग्दो छ ।
यदी राप्तीमा भ्रष्टाचार भएको प्रमाण कोही कसैले ल्याउनुहुन्छ भने जवाफ दिन तयार छु । एक रुपैयाँ भ्रष्टचार भएको देखाउन चुनौती दिन्छु । महालेखाको सन्दर्भमा भने हामीले गत आर्थिक वर्ष २०७७-०७८ को बजेटमा विद्युत विस्तारका लागि विद्युत प्राधिकरणमा ६० लाख रुपैयाँ पहिले नै डिपोजिट गर्नुपर्ने रहेछ हामीले डिपोजिट पनि ग¥यौँ । महालेखामा सैद्धान्तिक बेरुजु भनेर लेखिएको छ । त्यो हामीले खुल्ला गरिदियौँ । १ करोड २० लाख बराबरको काम विद्युत् नपुगेका पहाडी भेग वडा नम्बर १०, ११, १२ र १३ मा विद्युत विस्तारका लागि जम्मा गरिएको पैसा सैद्धान्तिक बेरुजुमा देखाएको हुँदा यो कुरा उठेको हो ।
हामी निर्वाचित हुनुभन्दा अघिका बेरुजु प्रशासकीय अधिकृत, लेखा लगायतका सबै क्षेत्रमा हेर्दा बेरुजु नै नभएको अवस्था छ । त्यसै बाहिरबाट मिडियामा आरोप लगाउनुभन्दा म फेरि पनि भन्छु, प्रमाणसहित आउनुहोस् जवाफ दिन तयार छु । पहाडी भेगका ४ वटा अति विकट ठाउँमा काम भएन भन्ने जुन कुरा छ त्यो सबै एकैचोटी कोही कसैले पनि गर्न सक्दैन । सबै काम एकैपटक हुन सक्दैनन् । जनताका मागहरु धेरै हुन्छन् । तीमध्ये नगरी नहुने कामहरु पहिला गर्ने हो । ९० प्रतिशत काम गर्दै गर्दा १० प्रतिशत काम बाँकी रह्यो भने त्यो कामलाई फेरि पुरा गर्ने हो नि ! कोरोनाका कारण जति रफ्तारमा काम गर्नुपर्ने थियो त्यति हुन सकेन । गर्दै जाँदा केही कामहरु बाँकी पक्कै पनि छन् ।
नगरपालिकाको बनाइएको भवन जनताको भवन हो । यहाँबाट जनताले सबै सेवा पाउने छन् । यो भवनमा सधैँ प्रभा बराल बस्ने हो ? अरु साथीहरु आउँदैनन् ? प्रभा बरालले सिंहदरबार बनाइन् भन्न मिल्छ ? मैले आफ्नो घर बनाएको हो यो ? जनताको सम्पत्ति होइन यो ?
हामी निर्वाचित भएर आउने बित्तिकैको अवस्था कस्तो थियो र अहिले कति परिवर्तन भएको छ भन्ने कुरा सकारात्मक दृष्टिले हेर्नुपर्छ । हामी आउँदा नगरपालिकाको भवन थिएन । जनतालाई सेवा दिने ठाउँ थिएन । एउटा कोठामा नगर प्रमुख, उपप्रमुख र १३ वटा वडा अध्यक्ष, शिक्षा, स्वास्थ्य, कृषि, महिला बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका सबै शाखाका सम्पुर्ण सेवा एउटै शाखाबाट दिनुपर्ने बाध्यता थियो । क्रमशः नगरपालिकाको भवन निर्माणसँगै सबै शाखाहरुको व्यवस्थापन गरी व्यवस्थित रुपमा जनतालाई सेवा प्रदान गर्न सफल भइएको छ । नगरपालिकाको बनाइएको भवन जनताको भवन हो । यहाँबाट जनताले सबै सेवा पाउने छन् । यो भवनमा सधैँ प्रभा बराल बस्ने हो ? अरु साथीहरु आउँदैनन् ? प्रभा बरालले सिंहदरबार बनाइन् भन्न मिल्छ ? मैले आफ्नो घर बनाएको हो यो ? जनताको सम्पत्ति होइन यो ?
पाँच वर्षपछि भवन भत्काएर बनाउनुपर्ने बाध्यता नहोस् र पटक पटक यही भवन निर्माणकै लागि भनेर बजेट खर्चिन नपरोस् भनेर बलियो केही ठूलो भवन निर्माण गरियोे । जुुुन अहिले उत्कृष्ट भवनको रुपमा चिनिएको छ । हामीले गर्नुपर्ने काम धेरै नै बाँकी छन् । सुकुम्बासी समस्या समाधान आयोगको काम पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल भएका बेलामा काम रफ्तारका साथ अघि बढेको थियो । त्यसलगत्तै गठबन्धनको सरकार आएपछि रोकिएको काम ठप्प फेरि अघि बढेको छ । काम भएन भन्नेहरुलाई राप्ती नगरपालिका घुमेर हेर्न सुझाव दिन्छु । राप्ती नगरपालिकाको जस्तो विकास अन्यत्र कमै भएका छन् ।