चितवन । नेकपा एमालेबाट भरतपुर महानगरको मेयरमा सर्वसम्मत सिफारिस भएका विजय सुवेदीले महानगरीय स्वयंसेवी योजना आयोग बनाउने कसरतमा जुटेका छन् । उनले आफ्नो प्रतिबद्धतापत्रमा पनि विज्ञसहितको महानगरीय स्वयंसेवी योजना आयोग बनाउने विषयलाई प्राथमिकतामा छन् ।
विज्ञसहितको स्वयंसेवी योजना आयोगको विषयमा सुवेदीले यस आयोगलाई ‘नयाँ कन्सेप्ट’को रुपमा लिएका छन् । उनी भन्छन्, ‘भरतपुर महानगरको २० वर्षको गुरुयोजना बनाउनुछ, एक्लै अघि बढ्दा कहीँ न कहीँ समस्या आउन सक्छ । यस्तो बेलामा विज्ञसँगको सल्लाह सुझावअनुसार अघि बढ्नको लागि स्वयंसेवी योजना आयोग बनाउन खोजिएको हो ।’
इच्छाशक्ति चाहिन्छ, विज्ञको सुझाव लिएर अघि बढ्दा भरतपुर महानगरलाई अन्तर्राष्ट्रियस्तरको सुन्दर बगैँचाको सहर बनाउन सम्भव छ।
उनका अनुसार यो आयोगमा बस्ने विज्ञहरु सबै स्वयंसेवी हुन्छन् । सबै क्षेत्रका देशमै ख्याति प्राप्त टप विज्ञहरु समावेश गरिन्छ । आयोगमा झन्डै एक सय जना हुनेछन् । यस आयोगसँग कम्तीमा महिनाको एक पटक छलफल चलाएर सुझाव संकलन गरिन्छ । मतदाताहरुले सुवेदीलाई महानगरको मेयरमा निर्वाचित गरे एक महिनाभित्र स्वयंसेवी योजना आयोग बन्नेछ । उनी भन्छन्, ‘सबै क्षेत्रका विज्ञहरुलाई राखिन्छ, उनीहरुको सुझावअनुसार महानगरको विकासलाई अघि बढाइन्छ, यस्तो आयोग देशकै नमुना हुनेछ ।’
विकासको लागि यस्तो आयोग बनेको छैन । भरतपुर महानगरका मेयरका उम्मेदवार सुवेदीले यस्तो आयोग बनाएर अघि बढ्ने प्रतिबद्धता गरेका छन् । उनी भन्छन्, ‘पर्यटन क्षेत्रको विकास गर्नुछ भने सोही क्षेत्रका विज्ञसहितको सुझाव संकलन हुन्छ, शिक्षामा परिवर्तन ल्याउनुछ भने शिक्षाविद्सँग सुझाव लिन्छु । कृषिको विकास गर्नछ भने कृषिविज्ञसँग सुझाव लिन्छु । सबै क्षेत्रका विज्ञलाई आयोगमा राखिन्छ । उनीहरुकै सुझावबाट महानगरको विकासमा होमिन्छु ।’
‘सबै क्षेत्रका विज्ञहरुलाई राखिन्छ, उनीहरुको सुझावअनुसार महानगरको विकासलाई अघि बढाइन्छ, यस्तो आयोग देशकै नमुना हुनेछ ।’
सुवेदीले एउटा मेयर सबै क्षेत्रको विज्ञ हुन नसक्ने बताए । उनले भने, ‘मेयर आफैँ जान्नेसुन्ने भएर अघि बढियो भने चिप्लिन सकिन्छ, सबैको सुझाव लिएर अघि बढ्छु । उनले भरतपुर महानगरको २० वर्षको गुरुयोजना आफैँमा चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘मैले २० वर्षको महानगरको वृहत गुरुयोजना बनाउनेछु, यही गुरुयोजनाको लागि विशुद्ध स्वयंसेवी रहने गरी विज्ञसहितको स्वयंसेवी आयोग बनाउन लागेको हुँ । मेयरमा निर्वाचित भएसँगै आयोगलाई मुर्त रुप दिन लाग्नेछु ।’
उनले भरतपुर महानगरलाई अन्तर्राष्ट्रियस्तरको एउटा स्वच्छ, सुन्दर र हराभराको सहर बनाउन सकिने बताए । उनले आफ्नो प्रतिबद्धता पत्रमा नारायणी राप्तीको तटबन्धन गरी, तटीय आवास, तटीय सडक, हरियाली किनार, जलक्रीडा र जल यातायातको विकास गर्दै एकीकृत र बहुउद्देश्यीय विकास गर्न सम्भव भएको बताएका छन् । उनले भने, ‘इच्छाशक्ति चाहिन्छ, विज्ञको सुझाव लिएर अघि बढ्दा भरतपुर महानगरलाई अन्तर्राष्ट्रियस्तरको सुन्दर बगैँचाको सहर बनाउन सम्भव छ।’