चितवन । नेकपा एमालेबाट भरतपुरको मेयरमा सिफारिस भएका विजय सुवेदीले आफ्नो चुनावी घोषणापत्रको लागि आज सरोकारवालासँग सुझाव लिएका छन् । उनले यही वैशाख ९ गते सार्वजनिक गर्ने घोषणापत्रको लागि विज्ञबाट सुझाव लिएका हुन् । नागरिकको अपेक्षालाई आफ्नो एजेण्डामा समेट्नका लागि सुझाव संकलन गरेको र सबै सुझावलाई आफ्नो घोषणापत्रमा समेट्ने नेता सुवेदीले बताए ।
उनले भने, ‘समग्र भरतपुरको विकासको लागि राम्रा सुझाव आएका छन्, यी सुझाव कार्यान्वयन गर्नको लागि दिनरात खटिनेछु, सबै सुझावलाई ग्रहण गर्छु र अघि बढ्छु । यी सबै सुझाव मेरा मार्गदर्शन हुनेछ ।’ मेयरका उम्मेदवारमा सिफारिस भएका सुवेदीलाई भरतपुरको विकासको लागि एक सयभन्दा बढी सुझावहरु विज्ञ समूहले दिएका छन् ।
भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको मेयरका उमेदवार सुवेदीले बताए । महानगरबासी सबै नागरिकको अभिभावकत्व लिनेगरी नमुना महानगर बनाउन व्यवस्थित गुरुयोजना बनाएर काम गरिने उनले बताए । नागरिकलाई क्षमताअनुसारको रोजगारी दिन सुरुको वर्ष नागरिकको अभिलेखिकरण गर्ने, अनुसन्धानका लागि आविस्कार केन्द्रको स्थापना गर्ने र विकास निर्माणमा निश्पक्ष सक्रियताको अभ्यास गर्ने उनको प्रतिबद्धता छ ।
‘व्यवस्था परिवर्तन भयो भनियो तर अझै पनि अव्यवस्थाको निरन्तरता छ । हामी भरतपुरबाट व्यवस्थाको सुरुवात गर्छौँ’, उनले भने ।प्राध्यापक कपिल सुवेदीले संघ र प्रदेशको बजेटको भरमा भरतपुरमा विकास भइरहेको बताए । यहाँको विकासका लागि वैदेशिक लगानी भित्राउन पनि सकिने भन्दै उनले त्यसका लागि पहिला वैदेशिक लगानी नीति बनाउन आवश्यक रहेको बताए । ‘वैदेशिक लगानी भित्राउन सक्नुपर्छ । महानगरमा त्यस्तो लगानीको लागि ऐन नै बनेको छैन’, उनले भने ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भरतपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । यहाँबाट १५० किमीको दुरीमा देशका ठूला शहरहरु रहेको भन्दै उनले भने, ‘यहाँबाट निर्यात हुने वस्तुलाई प्रवर्द्धन गर्नुपर्छ । आयात प्रतिस्थापन गर्नुपर्छ । त्यसको लागि आर्थिक कुटनीति बनाउन जरुरी छ ।’
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्ने कुरामा जनतालाई प्रत्याभुति दिलाउन उनले आग्रह गरे । त्यस्तै, महानगरको अहिलेको संरचनाले आगामी १० वर्षमा कति जनसंख्यालाई धान्न सक्छ त्यसको विश्लेषण गर्नुपर्ने उनले सुझाए।
अधिवक्ता राजकुमार श्रेष्ठले महानगरले ऐन कानुन बनाउँदा विज्ञसँग सल्लाह नगरेको बताए । शहरी क्षेत्रका केहि वडा हेरेर सबै ठाउँमा एकै किसिमको कर लगाउने नीति गलत भएको उनले बताए । सुकुमबासीलाई एकरदुई कठ्ठा जग्गा बाँडेर मात्र नहुने भन्दै उनले स्थायीत्वका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताए ।
पर्यटन विज्ञ विश्व सुवेदीले पर्यटन क्षेत्रको विकासमा पर्याप्त लगानी हुन नसकेको बताए । भरतपुर महानगरमा ३० वटा पर्यटकिय गन्तव्य स्थल पहिचान भएका छन् । ‘पर्यटनको छुट्टै प्लानिङ गरौँ । पर्यटनलाई धेरै पक्षसँग जोडेर विकास र आर्थिक उन्नती गर्न सकिन्छ’, उनले भने ।
पर्यटन क्षेत्रको प्रवर्द्धनमा चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वन, २०३४ सालमा बनेको होटल सञ्चालन सम्बन्धि ऐन बाधक रहेको उनले बताए ।