चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ वर्ष दलहरुले शासन चलाउँदा पनि केही विकास हुन नसकेको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित आमसभामामा अध्यक्ष राजेन्द्र लिङ्देनले व्यवसायीले कर तिर्दा पनि घुस खुवाउनु परेकोले देशको विकास सम्भव नभएको बताए । उनले यो देश बिकास नहुनुको कारण ३२ वर्षदेखि शासन चलाएका नेता र दलहरुका गतिविधि भएको बताए ।
उनले देशभित्र उद्योगधन्दा कलकारखानाको विकास गर्छु भन्दा ठूला भनिएका पार्टीहरुलाई शेयर दिनु परेको पनि जिकिर गरे । अध्यक्ष लिङदेनले ३२ वर्ष शासन गरेका दल र तिनका नेतासँग राज्यका कुनै क्षेत्र खुसी नभएको दावी समेत गरे । उनले भने ‘३२ बर्ष शासन गर्दा शिक्षा, स्वास्थ्य, युवा, किसान कोही खुसी हुन सकेनन् ।’
उनले अब ती पुराना भनिएका पार्टीलाई भोट दिएर समय र देश बर्बाद नपार्न समेत जनतालाई आव्हान गरे । पुराना र ठूला पार्टीबाट देश बन्छ भन्नु साढेको टाङमुनी बाल्टी थापेर दूध आउछ भनेजस्तै भएको टिप्पणी गरे । उनले भने, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाजेबाउको पार्टी भनेर भोट नदिनुस्, ठीक पार्टी र ठीक नेता चुन्नुपर्छ । गएका चुनावहरुमा ठीक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको बताए ।