चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले वैशाख ३० गतेको स्थानीय तहको चुनावमा राप्रपा पार्टी एक्लै लड्ने बताएका छन् । आज भरतपुरको केन्द्रीय बसपार्कमा हुन लागेको विशाल सभामा भाग लिन चितवन आएका लिङदेनले भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा राप्रपाको कुनै पार्टीसँग तालमेलको प्रक्रिया अघि नबढेको बताए ।
उनले भने, ‘केन्द्रमा एमालेसँग पनि कुनै तालमेलको प्रक्रिया अघि बढेको छैन, अरु पार्टीसँग पनि तालमेल अघि बढेको छैन, राप्रपा एक्लै लड्छ, एक्लै जित्छ ।’ देशका कुनै एक-दुई पालिकामा स्थानीय तहमै छलफल गरेर कुनै पार्टीबीच तालमेल हुन पनि सक्ने उनी बताउँछन् । उनले भने, ‘हालसम्म केन्द्रबाट कुनै पार्टीसँग तालमेलको प्रक्रिया अघि बढाइएको छैन ।’
उनले राप्रपाले जितेको पालिकामा कक्षा १२ सम्मको शिक्षा र स्वास्थ्यको उपचार निःशुल्क हुने दावीसमेत गरे । आज भरतपुरको केन्द्रीय बसपार्कमा हुन् लागेको सभामा राप्रापाले ५० हजार जनता उतार्ने दावी राप्रपाले गरेको छ । उक्त सभामा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापालगायतले सम्बोधन गर्ने भएका छन्।
आमसभास्थलमा २ वटा मञ्च बनाइएको छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्चमा राखिनेछ । बसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सरसफाई गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारी दिए ।