चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सौराहा फूड फेस्टिबल बुधबारबाट सुरु भएको छ । नेपाली नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका छन् ।
मन्त्री खनालले कोरोनाले खस्किएको पर्यटनलाई उकास्न प्रदेशभरका निजामती कर्मचारीलाई एक वर्षमा दस दिन बिदा दिने निर्णय गरेको बताए । पर्यटन उद्योग मुलुकको आर्थिक विकासको अभिन्न अंग रहेको भन्दै उनले सरकारले यसको विकास र पुनर्जिवनको लागि योजना बनाएर काम गरिरहेको बताए । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सौराहाको पर्यटन विकासको लागि सौराहामा सुविधा सम्पन्न सिटीहल, झुवानीमा वाटरकिङडम र टिकौलीमा होमस्टेसहितको इको पार्क निर्माण गरिएको बताए ।
प्रणय दिवसको अवसरमा आयोजना हुँदै आइरहेको फुड फेष्टिबल यसपटक चैत ३० देखि वैैशाख २ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक ध्रुव गिरीले जानकारी दिए । उनले कोरोनाको संक्रमण घट्दै गइरहेको र पर्यटन ब्यवसाय पनि सुचारु भएकोले नेपाली नयाँ वर्षमा फेष्टिबल आयोजना गरिएको बताए । फेष्टिबलका लागि सौराहाको मुख्य बजार सजाइएको छ । नयाँ बर्ष मनाउन र फेस्टिवलमा रमाउन स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा आएका छन्। फेस्टिबल सुरु नहुँदै सौराहा पर्यटकले भरिएको छ । फेष्टिवल अन्तर्गत सौराहाको मुख्य बजारमा स्थानीय, स्वदेशी तथा विदेशी खानाको परिकार राखिएको संयोजक गिरीले बताए ।
फेस्टिबलमा स्थानीय कला, संस्कृति, भेषभुषाको जगेर्नालाई प्राथमिकता दिइएको छ । यो संस्करणको मुख्य आकर्षणमा विभिन्न जातजाती,आमा समूह लगायत अन्य संघ संस्थाको झाँकी प्रदर्शन तथा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेको छ । फेस्टिबल अवधि भर कार्यक्रम स्थल देखि सौराहा ड्याक सम्म हरेक दिन बेलुका जनजातीहरुको झाँकी प्रदर्शन गरिने बताए ।
रेवान सौराहाका अध्यक्ष नरेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी,रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्ट,रेवानका महासचिव सुर्यबहादुर रिमाललगायतले मन्तव्य राखेका थिए । फेस्टिबलको सांस्कृतिक कार्यक्रम अन्तर्गत गायक प्रकास सपुत रमेशराज भट्टराई,अर्जुन सापकोटा र गायिका सम्झना भण्डारी तथा रुपा घर्तिमगरको प्रस्तुती दिएको सहसंयोजक नवीन नेपालले जानकारी दिए । फेष्टिबल उद्घाटन हुनुपूर्व सौराहामा भब्य शोभायात्रा निकाल्ने निकालिएको थियो ।