चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेले उम्मेदवार लगभग पक्काजस्तो गरिसकेको छ । नेकपा एमाले महानगर कमिटीले सर्वसम्मतरुपमा भरतपुर महानगरको मेयरको उम्मेदवारमा विजय सुवेदीको नाम सिफारिस गरिसकेको छ ।
आफ्नो नाम सर्वसम्मत भएसँगै नेता विजय सुवदी मतदाताको घरदैलो गर्न थालिसकेका छन् । जनताको माझमा गएर आफ्नो विकासका योजनाहरु राख्न थालिसकेका छन् । यता पाँच दलीय गठबन्धन भने भागवन्डाकै रस्साकस्सीमा लागिरहँदा एमालेका नेता सुवेदी भने भोट माग्न थालिसकेका छन् ।
चितवन प्रेससँगको कुराकानीमा उनले आफू जनताको माझमा पुगिरहेको र आफ्नो विकासका योजनाहरु, भरतपुरको समग्र गुरुयोजनालगायतका विषयमा जनतालाई बुझाइरहेको बताए । उनले भने, ‘म महानगरवासीकै माझमा हिँडिँरहेको छ, घरदैलो पनि गरिरहेको छु । दौडधूप तीव्ररुपमा भइरहेको छ ।’
सालिन, भद्र, कसैलाई नबिझाउने सादगी नेताको परिचय बनाएका नेता सुवेदीले २०३९ सालदेखि पार्टी राजनीति शुरू गरेका तथा तीन पटकसम्म जिल्ला पार्टी कमिटीको नेतृत्व गरेका थिए । सुवेदीले राजनीतिक लाभको पदमा बसेर खासै काम गरेका छैनन् । २०४३ सालमा उनी जनपक्षीय उम्मेदवार जेपी भेटुवालको चुनावी कमाण्डर बनेर खटिएका थिए । २०४९ देखि ०५१, २०६१ देखि ०६४ र २०६४ देखि ६६ गरी तीन पटकसम्म जिल्ला सचिव भएर चितवनमा पार्टीको नेतृत्व गरे । त्यतिबेला पार्टी अध्यक्ष प्रणालीमा गएको थिएन ।
यसबीचमा उनले २०५१ मा प्रतिनिधि सभा उम्मेदवारका रूपमा पार्टीबाट टिकट पाएका थिए । अन्तिम समयमा उनको टिकट खोसियो । चुनावी तालमेलका क्रममा एमालेले त्यस क्षेत्रमा जनमोर्चालाई सघायो । २०५६ मा उनी चितवनको तत्कालीन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बने, तर जीत सम्भव भएन । २०६४ मा सुवेदी फेरि चुनावी मैदानमा होमिए । देशव्यापीरूपमा नेकपा (माओवादी)को लहर आएका बेला उनी निकटतम प्रतिद्वन्द्वी बने ।
२०७० मा भने उनले प्रतिस्पर्धा गरेनन् । २०७४ मा उनलाई पार्टीले चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनायो । उनले प्रभावशाली जीत दर्ता गरे । सुवेदी २१ हजार ५ सय ७२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रकाश अधिकारीले १२ हजार ६७० मत पाए ।
यही कार्यकालमा उनी ४९ दिनका लागि बाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बने । त्यो ४९ दिनमा आफूले उल्लेख्य काम गरेको सुवेदी दाबी गर्छन् । भरतपुर अस्पतालको अध्यक्ष हुँदा गरेको कामदेखि बागमती प्रदेशमा सामाजिक विकास मन्त्री हुँदासम्मको कामको फेहरिस्त लिएर विजय सुवेदी घरदैलौ गइरहेका छन् । चुनावी माहोल विजय सवेदीतर्फ कतिको ढल्किन्छ, आगमी दिनहरुले निक्यौल गर्नेछ ।