मकवानपुर । बागमती प्रदेश सरकारले अपाङ्गता भएका ४९ जनालाई अपाङ्ग सहायक सामग्री वितरण गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधवार एक कार्यक्रमका बिच राष्ट्रिय अपाङ्ग कोषसँगको साझेदारीमा ४९ जना अपाङ्ग भएका व्यक्तिहरूलाई १० लाख रुपैयाँ बराबरको अपाङ्ग सहायता सामग्री वितरण गरेको हो ।
बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले ४९ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर, वाकर, कृत्रिम खुट्टा, सेतो छडीलगायतका सामग्रीहरु वितरण गर्नुभएको हो । सहायता सामग्री वितरण गर्नुहुँदै सामाजिक विकास मन्त्री बस्नेतले अपाङ्गता भएका व्यक्तिको सीप विकास गर्दै आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री बस्नेतले अपाङ्गता भएका व्यक्तिलाई आर्थिक रुपमा सक्षम बनाउन सिपमूलक विविध कार्यक्रममार्फत मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
प्रदेशका एक सय जनालाई सहायता सामग्री वितरण गरिने कार्यक्रम अन्तरगत बुधवार ४९ जनालाई सहायता सामग्री वितरण गरिएको तथा अन्यलाई प्रत्येक जिल्लामै उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामा लगायतले मन्तव्य राख्नु भएको थियो ।