चितवन । प्रभा बराल राप्ती नगरपालिकाकी मेयर हुन् । उनले २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवार किरणभुषण ओली ओलीलाई पराजित गरेकी हुन् । नेपाली कांग्रेसका उम्मेदवार ओलीभन्दा नेकपा एमालेकी उम्मेदवार बरालले ४ हजार ३२१ मत बढी ल्याएर विजयी भएकी थिइन् ।
पाँच वर्षको अवधिमा राप्तीकी मेयर बरालले थुप्रै काम गरेको दाबी गरिहँदा स्थानीय तहको चुनाव २०७४ का प्रतिद्वन्द्वी किरणभुषण ओलीले मेयर बरालको कामप्रति चितवन प्रेससँग गरेको समीक्षा, उनकै शब्दमा ।
राप्ती नगरपालिका मेयर प्रभा बरालज्यूले आफ्नो कार्यकाल अवधिभरमा गर्छु भनेका काम १० प्रतिशत पनि गर्न सक्नुभएन । उहाँले पाँच वर्षअघि गर्छु भनेर घोषणा गरेको काम केही भएन । घोषणापत्र मसँग अझै सुरक्षित छ । उहाँले गर्छु भनेको कामहरु जति पनि छन् ती सबै अधुरा छन् । सडक, खानेपानी, शिक्षा स्वास्थ्य र जनताका आधारभूत आवश्यकतामा आश्वासन दिइयो तर पूरा हुन भने सकेनन् ।
मेयरज्यूले वीरेन्द्रनगर, भण्डारा र पिप्लेलाई मात्र नगरपालिकाको रुपमा लिनुभयो । उहाँले त्योभन्दा माथि कोराक पनि नगरपालिका हो भन्ने सोच्नुभएन । कोराकमा बाटोघाटो, खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्यचौकी केही पनि छैनन् । त्यतिसम्म विकास गर्न उहाँको दिमागले भ्याएन । त्यस क्षेत्रका लागि उहाँले चासो दिनुभएन ।
राप्ती नगरपालिका भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ । बाटोघाटो, शिक्षा, स्वास्थ्य, नगरपालिकाको भवन लगायतका सबै क्षेत्रमा भएको भ्रष्टाचारले राप्ती गनाएको छ । यहाँका सबै कार्यकर्तालाई भ्रष्टाचारी बनाएको छ । हामीले भ्रष्टाचार किन भयो ? भन्ने प्रश्न गर्दा अहिलेसम्म विपक्षीले उत्तर दिन सकेका छैनन् ।
कहीँ कतै सडक पिच भए पनि गुणस्तरीय छैनन् । कामहरुमा अत्याधिक भ्रष्टाचार छ । काम सबै अधुरो अपुरो छन् । उहाँले जुन काममा पनि राजनीतिकरण गर्नुभयो । आफ्ना कार्यकर्ताहरुलाई पोस्नेमात्रै काम गर्नुभयो । यस कारणले गर्दा म उहाँको कामप्रति खुसी छैन ।
उहाँलाई नगरपालिकामा राम्रो काम गरेको भन्दै सम्मान गरियो । सम्मान गर्ने मापदण्ड चाहिँ के हो ? हुन त नगरपालिकाका कर्मचारी उहाँको पार्टीकै । जिल्ला समन्वय समिति उहाँकै । संसद उहाँकै । उहाँले जे रिर्पोट बुझायो त्यही मान्य त होला नी !
यदी उहाँको ठाउँमा म मेयर भएको हुन्थेँ भने कार्यकाल अवधिसम्म लिएको लक्ष्य पूरा गरिसक्थेँ । यस ठाउँका लागि शिक्षा र स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हो भनेर उहाँले काम गर्नुपथ्र्यो । यस्तो कुरामा नगरपालिकाको १० प्रतिशत पनि काम भएको छैन ।
मेयरज्यूले हालसम्म गरेको एउटै मात्र काम पूरा गर्नुभएको छ । उहाँले करोडौँ रुपैयाँ खर्चेर सिंहदरबार जस्तो अफिस निर्माण गर्नुभयो । प्रभा बरालले गर्दा अबको निर्वाचनपश्चात नेपाली कांग्रेसले भवन निर्माणमा मोटो रकम खर्चिन नपर्ने भएको छ ।
राप्ती नगरपालिका भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ । बाटोघाटो, शिक्षा, स्वास्थ्य, नगरपालिकाको भवन लगायतका सबै क्षेत्रमा भएको भ्रष्टाचारले राप्ती गनाएको छ । यहाँका सबै कार्यकर्तालाई भ्रष्टाचारी बनाएको छ । हामीले भ्रष्टाचार किन भयो ? भन्ने प्रश्न गर्दा अहिलेसम्म विपक्षीले उत्तर दिन सकेका छैनन् ।
यस पटकको निर्वाचनमा म आफ्नो उम्मेद्वारी नदिने घोषणा गरिसकेको छु । अहिले म आफू क्षेत्रीय सभापति भएका कारण राम्रो सक्षम उम्मेद्वार चयन गर्ने र यस क्षेत्रमा कांग्रेसलाई जिताउने कसम खाएको छु ।
यसपटक पनि राप्तीमा एमालेबाट मेयर निर्वाचित भए विकास अझै पाँच वर्ष पछाडि धकेलिन्छ । राप्तीमा मेरो अलवा पार्टीले म भन्दा पनि जिम्मेवार व्यक्तिलाई उम्मेद्वार बनाउँछ । पार्टीमा एकता र मिलन छ । यसले गर्दा विपक्षीको दबाबलाई परास्त गर्न सदस्यहरु कांग्रेसका एकतामा रहर पैदा भएको छ । कुनै हालतमा पनि यसपटक कांग्रेसले चुनाव जित्छ ।
अहिले हाम्रो विपक्षी भ्रष्टाभारी, अहंकारी र घमण्डी भएका छन् । जनताले दिएको अभिमतलाई जोगाउन नसक्ने गरी भ्रष्टाचारको दलदलमा पूर्ण रुपमा भासिएको कुरा जनताले महसुस गरिसकेका छन् । आफूलाई जनताले दिएको जिम्मेवारी पूरा गर्न नसकेर आफै भित्रको विपक्षी पार्टी छिन्नभिन्न भएको छ ।
अबको निर्वाचन कांग्रेस निर्वाचित भयो भने निर्वाचनपछि राप्ती १०, ११, १२ र १३ को जुन दयनीय अवस्था छ त्यो सबै व्यवस्थापन हुनेछ । यहाँ भइरहेको भ्रष्टाचारको अन्त्य हुनेछ । पूर्वाधारको विकास गरी यहाँका जनताले चाहेजस्तो स्थानीय तह बन्नेछ ।