चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर अस्पताललाई एकेडेमिक सेन्टर बनाउन पहल गर्ने बताए । आज भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा अध्यक्ष प्रचण्डले अस्पतालको विकासमा गर्नुपर्ने सम्पूर्ण कायमा आफ्नो पहलकदमी रहने बताए ।
उनले भने, ‘डडेलधुरामा जस्तै यस अस्पताललाई एकेडेमिक सेन्टर बनाउन, एमआरआईलगायत उपकरण भित्र्याउन मेरो पहल हुन्छ ।’
कार्यक्रममा भरतपुर अस्पताल विकास समिति अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्राडा सुनिलमणि पोखरेलले अस्पतालको विषयमा जानकारी दिएका थिए । न्यून जनशक्तिका कारण उपचारमा कठिनाई भएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, प्रदेश सभा सदस्य विजय सुवेदी, नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपाने, नेकपा (समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, न्यान्सका डिन प्राडा पियुस दाहाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेललगायतले मन्तव्य दिएका थिए ।