चितवन । चितवनका ३१ मतदानस्थल अति संवेदनशीलभित्र राखिएको छ । चितवनमा १६१ मतदानस्थल रहेका छन् । २०७४ को चुनावमा पनि १६१ नै मतदानस्थल रहेका थिए ।
प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले ३१ मतदानस्थल अति संवेदनशीलभित्र राखिएको बताए । उनका अनुसार अति संवेदनशीलभित्र राखिएका मतदानस्थललाई बढी निगरानी राखिनेछ । सुरक्षाकर्मी थप गरिनेछ । पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ गरिएको वर्गीकरणमा चितवनमा ३१ मतदानस्थललाई अति संवेदनशीलभित्र राखिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तमाङका अनुसार वर्गीकरण ३१ स्थललाई अति संवेदनशील, ८२ लाई संवेदनशील र ४८ स्थललाई सामान्यरुपमा लिइएको छ । जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेको छ । यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा वैशाख ३ र ४ गते अधिकृतलाई तालिम दिइने, वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । यही वैशाख ३० गते हुन निर्वाचनमा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् ।