भरतपुर । भरतपुरलाई ‘साइकल सिटी’को एउटा सुन्दर बनाउन विभिन्न ठाउँबाट पहल भइरहेको छ । भरतपुर महानगरपालिकाले भरतपुरलाई साइकल सिटी बनाउन स्कुले छात्रालाई साइकल वितरणदेखि साइकल लेनसम्मको सडक बनाइरहेको छ । भरतपुर महानगरले स्कुले छात्राहरु करिब १ हजार जनालाई साइकल वितरणसमेत गरेको छ ।
यसैबीच भरतपुरलाई साइकल सिटीकै रुपमा चिनाउन साइक्लिङ म्याराथन पनि गरिने भएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद वागमती प्रदेशको साझेदारीमा साइक्लिङ म्याराथन भोलि हुन लागेको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा उनले भरतपुरलाई साइकल सिटीको रुपमा चिनाउन पनि यो म्याराथन प्रतियोगिताले ठूलो महत्व राख्ने बताइन् ।
चितवनका सडकलाई साइक्लिङ खेलको लागि प्रतिभा पहिचान गर्न, यसलाई साइकल सिटीको रुपमा चिनाउन, युवाहरुलाई साइकल खेलमा प्रोत्साहन गर्न, सहरको वातावरण र स्वास्थ्यमा सुधार गर्न, इन्धनको खपत न्यूनीकरण गर्न र क्यान्सर पीडितलाई सहयोग गर्न यस प्रतियोगिताको मुख्य उद्देश्य हो ।
उनले भनिन्, ‘ज्ञानु दाहाल र प्रकाश दाहाल मेरो दिदीभाई हुन् । दुवैको असामयिक निधन भयो, दुबैको स्मृतिमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ, यो प्रतिष्ठानले नै साइक्लिक म्याराथन गर्न लागेको हो । यसले भरतपुर महानगरलाई साइकल सिटीको रुपमा चिनाउन प्रमुख भूमिका खेल्नेछ ।’ उनका अनुसार भरतपुरका सडकहरुमा साइकल लेनसमेत बनाइएको छ ।
भोलि बिहान ७ बजे साइक्लिङ म्याराथन नारायणी नदीकिनारबाट सुरु हुनेछ । ९ बजे नै समापन गरिनेछ ।
पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सन्तकुमार दरले साइक्लिङको लागि ८६ जनालो नाम दर्ता गराइसकेका बताए । उनले भने, ‘पहिलोदेखि १० औँ हुनेसम्मलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ, पहिलो हुनेले ४५ हजार दसौँ हुनेले ५ हजार नगद पाउनेछन् । महिला र पुरुष दुबैको लागि प्रतियोगिता हुन लागेको हो ।’ ६५ किमीको साइक्लिङ यात्रामा १८ वर्षमाथिका सबै उमेर समूहले सहभागी जनाउने छन् । साइकल माउन्टेन हुनुपर्ने आयोजकले जनाएको छ । साइक्लिङ यात्रा नारायणी किनारबाट सुरु भई पश्चिम चितवनका विभिन्न क्षेत्र हुँदै मेघौलीमा पुगेर पुन फर्कने साइक्लिङका विज्ञ सुदीप पौडेलले बताए ।
चितवनका सडकलाई साइक्लिङ खेलको लागि प्रतिभा पहिचान गर्न, यसलाई साइकल सिटीको रुपमा चिनाउन, युवाहरुलाई साइकल खेलमा प्रोत्साहन गर्न, सहरको वातावरण र स्वास्थ्यमा सुधार गर्न, इन्धनको खपत न्यूनीकरण गर्न र क्यान्सर पीडितलाई सहयोग गर्न यस प्रतियोगिताका मुख्य उद्देश्य हो ।
कुनै बेलाको साइकलको सहर भनेर चिनिएको भरतपुरलाई फेरि पुरानै लयमा फर्काउन विभिन्न प्रयासहरु भइरहेको महानगर प्रमुख रेनु दाहाल बताउँछिन् । उनी भन्छिन्, ‘छात्रालाई साइकल वितरणदेखि साइकल लेनसम्म बनिरहेका छन्, अब राष्ट्रियस्तरका साइक्लिङ म्याराथनले पनि यस भरतपुरलाई साइकल सिटी भनेर चिनाउन ठूलो भूमिका खेल्नेछ ।’ भोलि प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट हुने आयोजकले जनाएको छ ।