चितवन । नेपाली कांग्रेस चितवनका नेताहरु काठमाडौँ गएर केन्द्रका शीर्ष नेतासँग भरतपुर महानगरपालिकामा कुनै हालतमा मेयरको उम्मेदवार कांग्रेसले नछोड्ने अडान लिएका छन् । शीर्ष नेताहरुसँग गठबन्धनको नाममा भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई मेयर छोडे विद्रोहसम्म हुनसक्ने घुमाउरो चेतावनी दिएपछि केन्द्रका शीर्ष नेताहरु झस्केका छन् ।
नेपाली कांग्रेस चितवनको उच्चस्तरीय प्रतिनिधिमण्डल भरतपुर महानगरको मेयरमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने अडान लिएर कांग्रेसका विभिन्न नेताहरुलाई भेट्दै घुमाउरो चेतावनीसमेत दिएका थिए । नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालको नेतृत्वमा गएको चितवनको प्रतिनिधिमण्डलले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीष नेताहरुसँग भेट गरेर आफ्नो स्पष्ट अडान राखेका थिए ।
चितवनबाट सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, दिनेश कोइराला, कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वसांसद जगन्नाथ पौडेल, निवर्तमान जिल्ला कमिटी सचिव उत्तम जोशीको टोलीले चितवनका मतदाताको स्पष्ट अडान भरतपुर महानगरको मेयर पद कुनै हालतमा नछोड्ने भन्दै आफ्नो धारणा राखेका थिए । चितवनका कांग्रेस नेताहरुले भोलि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट गरी आफ्नो स्पष्ट अडान राख्ने बताएका छन् ।