चितवन । गाउँमा कल्र्भट हाल्नेदेखि बिजुलीको पोल सार्नेसम्म, कुलो खन्नेदेखि हलो जोत्नेसम्मको काममा सँगसँगै हुन्थे नेत्रबहादुर उप्रेती (नेत्र बा) । विकासको लागि नगरपालिका धाउनेदेखि कालोपत्रेको लागि बजेट ल्याउनेसम्मको काम साइकल चढेर गर्थे नेत्र बा ।
नेकपा एमाले चितवन जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका नेत्र बा मृदुभाषी, समाजसेवी र आँखामा राखे पनि नबिझाउने प्रवत्तिका थिए । गाउँको विकासको लागि खैरहनी नगरपालिकाबाट सिंचाइको लागि पानीको पाइपको सिफारिसपत्र लिएर खैरहनी ३ स्थित निवास जानेक्रममा उनी चढेको साइकललाई आइतबार दिउँसो १ः ३० बजे मोटरसाइकलको ठक्कर दियो । पुरानो मेडिकल कलेजमा उनको उपचारको क्रममा निधन मंगलबार बिहान २ बजे मृत्यु भयो ।
नेत्र बा सबैका प्रिय थिए । कसैलाई बिझाउने थिएनन् । समाजमा जे समस्या परे पनि समाधान गर्नको लागि साइकल कुदाइहाल्थे । साइकल चढेर विकास ल्याउँथे, आज उनको निधनका कारण समाजले विकासको मियो गुमाएको छ ।
उनको मृत्युपछि खैरहनी वडा नं ३ मात्र होइन, सिंगो खैरहनी नगरपालिका नै शोकमा डुुबेको एमाले नेता जेएन थपलिया बताउँछन् । थपलिया भन्छन्, ‘उनको मृत्युपछि सामाजिक धरोहर गुमेको महसुुुस भएको छ, सिंगो खैरहनी नगरपालिका शोकमा डुबेको छ । जो साइकल चढेर विकासमा होमिएका थिए, उसैलाई दुर्घटनाले चुँड्यो ।’
उनका अनुसार नेत्र बा सबैका प्रिय थिए । कसैलाई बिझाउने थिएनन् । समाजमा जे समस्या परे पनि समाधान गर्नको लागि साइकल कुदाइहाल्थे । साइकल चढेर विकास ल्याउँथे, आज उनको निधनका कारण समाजले विकासको मियो गुमाएको छ । २००३ साल चैत ३० गते दोलखाको सुष्पा क्षमावती (हाल भीमेश्वर नगरपालिका वडा नं १) मा जन्मेका नेत्र बा २०२६ सालमा चितवनको खैरहनी नगरपालिका वडा नं ३ (साविक चैनपुर गाविस वडा नं ५) मा झरेका हुन् ।
दोलखा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले नेत्र बा चितवन झरेपछि राजनीति र समाजको विकासमा होमिनुभएको बताए । उनले भने, ‘दोलखामा कृषिमा तल्लीन हुनुहुन्थ्यो, सबैका प्रिय हुनुहुन्थ्यो । राजनीति र सामाजिक काम चितवन आएर गर्नुभएको हो ।’ नेकपा एमालेकी निवर्तमान चितवन जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पार्वती रावलका अनुसार नेकपा एमाले चितवन जिल्ला सल्लाहकार परिषद् सदस्य रहेका नेत्र बा एमालेका कर्मठ, निष्ठावान र सामाजिक सेवकको रुपमा रहेका थिए । उनले भनिन्, ‘कमरेड नेत्रबहादुर उप्रेतीप्रति हार्दिक श्रद्धाञ्जली ।’
नेत्र बा २०४२ सालबाट वामपन्थी आन्दोलनमा सरिक भएका हुन् । तत्कालीन माले पार्टीमा आबद्ध भएर नेत्र बाले राजनीति सुरुवात् गरेका स्थानीय मनोज कार्की बताउँछन् । खैरहनी वडा नं ३ का एमाले वडाध्यक्ष मनोज कार्कीका अनुसार नेत्र बा २०४२ सालदेखि राजनीति यात्रा गरेका हुन् । उनी भन्छन्, ‘तत्कालीन नेकपा मालेबाट राजनीति यात्रा सुरु गरी नेत्र बा एमालेमा आएका हुन् ।’
नेत्र बा २०५४ सालमा साविक चैनपुर गाविसको वडा नं ५ का वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालमा खैरहनी वडा नं ३ मा वडाध्यक्षको उम्मेदवार बनेका नेत्र बा यतिबेला थोरै मतले पराजित भए । एमाले नेता जेएन थपलिया भन्छन्, ‘पराजित भए पनि उहाँ सधैँ समाजको काममा कटिबद्ध हुनुभयो, टोलका काममा साइकल चढेर सम्पन्न गर्नुभयो । बिजुलीको पोल ल्याउन होस्, सिंचाइको लागि पाइप ल्याउन उहाँ सधैँ लगनशील भएर निष्ठापूर्वक पार्टीको काममा खटिनुभयो ।’
स्थानीय प्रताप उप्रेतीका अनुसार जनताको पक्षमा काम गर्ने नेत्र बालाई गुमाउनुपर्दा ठूलो पीडा भएको छ । उनी भन्छन्, ‘जसले जीवन नै सामाजिक काममा बिताए, उसैलाई चाँडै दैवले चुड्यो, बिडम्बना !’ ७५ वर्षको उमेरमा निधन भएको नेत्र बाको चार छोरी रहेका छन् ।