चितवन।नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चुनावको मुखमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी स्टन्ट देखाउने काम मात्रै गरेको आरोप लगाएका छन् । प्रचण्ड सुकुमबासीहरुलाई लालपुर्जा वितरण गर्नको लागि आज चितवन आएका छन् । नेता न्यौपानेले प्रचण्डको चुनावी स्टन्ट जनताले राम्रोसँग बुझेको बताए ।
‘निर्वाचनलाई प्रभावित पार्नेगरी महानगरपालिकामार्फत जुन ढंगले प्रयत्न भएको छ । जनतालाई भ्रममा पार्ने प्रयत्न भएको छ,’ एमाले अध्यक्ष न्यौपानेले भने, ‘पाँच वर्षमा महानगरमा के काम भयो ? सबै बजेट आफू मातहत राखेर आफ्ना आसेपासेलाई मात्रै बाँड्ने काम भयो । फोहोर व्यवस्थापनको समस्या ज्युकात्यु छन् । प्रचण्ड आफैँले शिलान्यस गरेको आयोजना अलपत्र परेका छन् ।’
भरतपुरमा देशकै नमुना काम भएको बताउने प्रचण्ड मतदातालाई प्रभावित पार्न विकास निर्माणका कामलाई नै अस्त्र बनाउने सोँचमा देखिएको प्रतिपक्षी दल एमालेको आरोप छ ।