चितवन।चितवनमा यही चैत २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज (मंगलबार) पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जिल्लाका सबै वडा र स्थानिय तहमा चैत २५ गतेदेखि वैशाख ४ गतेसम्म खोप अभियान संचालन गरिने जनाएको हो।
खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर मुनिका सबै बालबालिका समावेस हुनेछन। जिल्लाभरका रहेका ७ स्थानीय तहमा कुल ९८ वडा रहेका छन्। तहका लागि लागि जिल्लाभर ४५० खोप केन्द्र राखिने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राम कुमार केशीले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनीमा ६२, राप्तीमा ६४, कालिका नगरपालिकामा ५३, माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्र रहनेछन।
जनस्वास्थ्य अधिकृत केशिका अनुसार जिल्लामा रहेका विद्यालायहरुमा खोप केन्द्र बनाइनेछ। ‘कम्तिमा पनि २०० जना विद्यार्थीको समुह रहेका विद्यालयमा केन्द्र राखिनेछ। ८० प्रतिशत बालबालिका विद्यालयमै भेटिने भएका कारण विद्यालय लक्षित केन्द्र बनाइएको हो।’ उक्त केन्द्रहरुमा ९४४ जना स्वास्थ्यकर्मी र १ हजार ३९४ जना स्वास्थ्य स्वयं सेवक रहनेछन।
जिल्लाभर खोपका लागि १ लाख ९६ हजार ११ जना लक्षित गरिएको जनस्वास्थ्य अधिकृत केशिले बताए। जसमध्ये विद्यालयका बालबालिका १ लाख ५९ हजार २४६ र विद्यालय बाहिरका ३६ हजार ५६६ जना रहेका छन्।