चितवन । समय ठीक १० बजेको थियो । कपाल सेतै फुलेको एक महिला जिल्ला प्रशासन कार्यालय चितवनको प्रमुख जिल्ला अधिकारीको कार्यालय अघि उभिएकी छन् । गाला चाउरी परेका छन् । उनको आँखाले बारम्बार सिडिओको कार्यालयतर्फ हेरिरहन्छ । लाग्यो, उनले सिडिओ साबलाई कुरेर बसिरहेकी छन् । उनको नजिकै गएर हामीले केही जिज्ञासा राख्यौँ ।
उमेरले ७७ वर्ष पुगेकी रहेछिन् । भरतपुर २१ की बासिन्दा । नाम उनको डण्डकुमारी ढकाल । उनी पेन्सनको कागजात मिलाउन आएकी हुन् । सिडिओसाबको हस्ताक्षरबिना उनको काम हुँदैन । यसअघि पनि उनी आएकी थिइन्, त्यतिबेला पनि सिडियोसाबलाई उनले भेटिनन् । भन्छिन्, ‘आज त जसरी पनि भेट्छु भनेर आएकी हुँ, जिल्लामा नेताहरु आएका छन् रे, उतै जानुभयो भन्ने सुनेकी छु । कतिबेला आउने हो ? ५ बजेसम्म त कुरेर बस्न पर्यो नि ।’
उनीमात्र होइन, सिडिओसाबलाई कुरेर बस्नेहरुको लाइन लामै थियो । प्रायः सबै पेन्सनको काम मिलाउन आएका थिए । यो काममा सिडियोसाब नभई हुँदैन । तर सबै सेवाग्राहीहरुले सिडियोको बाटो हेरिरहँदा उनी भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विभिन्न कार्यक्रममा कुदिरहेका थिए । प्रचण्ड बिहान बिमानस्थलमा झरेदेखि नै चितवनका सिडियो अस्मान तामाङ सँगसँगै छन् । सेवाग्राही उता कार्यालयमा कुरेर बसिरहेका छन् ।
जिल्लामा कुनै नेता आउँदा सिडियोसाब ती नेताको पछि दगर्नुको साटो कार्यालयमा आएका सेवाग्राहीको गुनासो सुने हुँदैन ? सिडियोसाब गएर ती नेताको सुरक्षा पनि हुने होइन, सु्रक्षा दिने सुरक्षाकर्मी छन् । सिडियो गएर नेता बोल्दा ताली पिट्नुको साटो आफ्नो कार्यालयको सेवा चुस्त पारे हुँदैन ?
बुधबार बिहान ११ बजे राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको पुर्वीचितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन आएका हुन् । प्रमुख जिल्ला अधिकारी जुनसकै शीर्ष नेता आउँदा पछिपछि दगर्नुे प्रचलनले सेवाग्राही मारमा परेका छन् । यो अहिलेका सिडिओ अस्मान तामाङको मात्र नियति होइन, यसअघिका सिडिओहरु पनि कुनै नेता आउँदा जाने र ती नेता जहाँ पुग्छन्, त्यही पुगेर ताली ठोक्ने काम भएका प्रशस्त उदाहरणहरु छन् । राप्तीको कार्यक्रम सकिएपनि भरतपुर महानगर वडा नं २६ गोलाघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डबाटै नारायणी नदी तटबन्धनको शिल्यानास कार्यक्रमको तालिका थियो । सिडियोसाब पनि उतै लागेपछि प्रशासनमा बेसका सेवाग्राहीको हरिबिजोग नै भएको थियो । अन्य कर्मचारीले आउनुहुन्छ भनेर कुराउने, सिडिओसाब कार्यालयमा नआउने गतिविधिले सेवाग्राही हैरान भएका थिए ।
घडीले चार बजाउनै लाग्दा हामी फेरि ती सेवाग्राहीको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय पुग्यो । सेवाग्राहीमध्ये जसलाई हामीले बिहान सबैभन्दा पहिला जिज्ञासा राख्यौँ, ती सेतै कपाल फुलेकी आमा सिडियोसाबको ढोकानजिक कुरेर बसिरहेकी थिइन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कुर्दा पनि ती कपाल फुलेकी, अनुहार चाहुरी परेकी आमाले सिडिओसाबलाई भेट्न सक्नुभएन । हामी पुग्दा प्रशासनका एक कर्मचारीले भन्दै थिए, ‘आमा तपाइँ घर जानु, अब आउनुहुँदैन सिडियोसाब ।’ आमाले अनुहार मनिलो बनाउनुभयो । आँखा राता भए । आतेजाते बस भाडाको लागि झोला हेर्न थाल्नुभयो ।
बिहान आएका केही सेवाग्राहीहरु हामी पुग्दा फर्किसकेका थिए । हामीले पनि सेवाग्राहीलाई अब कुरेर बस्नु बेकार छ भन्ने सन्देश दियौँ, विस्तारै सबै आफ्नो गन्तव्यतिर लागे ।कुनै पनि जिल्लाको सरकारी सेवामा कार्यरत सर्वश्रेष्ठ पद हो सिडियो । अङग्रेजीमा चिफ डिस्ट्रिक अफिसरको नामले चिनिने उक्त्त पदमा बसेको जिम्मेवारी व्यक्तिले जिल्लाको शान्ति सुरक्षादेखि कार्यालयका गतिविधिसम्मको निगरानी गर्नुपर्छ । जिल्लाको अधिकांश कार्यकारी शक्ति सिडिओमा निहीत हुन्छ । सुरक्षा निकायको सम्पूर्ण जिम्मेवारी साथसाथै प्रशासकीय जिम्मेवारी पनि सिडियोकै थाप्लोमा पर्छ ।
यस्तो कार्यकारी व्यक्तिले आफनो कार्यलयमा सेवाग्राहीलाई सेवा दिन छोडेर नेताको पछि दगुर्दाको पीडा कति हुन्छ भनेर हामीले ती सेतै कपाल फुलेको महिलालाई सोध्यौँ ? केही भन्न सकिनन् । निनाउरो अनुहार लगाएर जिल्ला प्रशासन कार्यालयको गेटबाट बाहिर निस्किन् ।
शीर्ष नेतालाई सुरक्षा चाहिँदैन भन्न खोजेको होइन, सुरक्षा दिने सुरक्षाकर्मीहरुले हो । जुनसुकै नेता आउने उद्घाटन र शिलान्यासमा सिडिओ कुद्न थाल्ने हो भने सेवाग्राहीको अवस्था के होला ? सेवा प्रवाह चुस्त बनाउने प्रशासन कार्यालयकै प्रमुख नेताको पछि दगुर्ने हो भने सेवा कसरी छिटो होला ? सेवाग्राहीले कहिलेसम्म सास्ती पाइराख्ने होला ।
जिल्लामा कुनै नेता आउँदा सिडियोसाब ती नेताको पछि दगर्नुको साटो कार्यालयमा आएका सेवाग्राहीको गुनासो सुने हुँदैन ? सिडियोसाब गएर ती नेताको सुरक्षा पनि हुने होइन, सु्रक्षा दिने सुरक्षाकर्मी छन् । सिडियो गएर नेता बोल्दा ताली पिट्नुको साटो आफ्नो कार्यालयको सेवा चुस्त पारे हुँदैन ? कुनै नेता आउँदा सिडियो दगुर्ने प्रचलन अहिलेका चितवनका सिडिओ अस्मान तामाङबाट सुरु भएको त होइन, यो प्रचलन त जुगौदेखि चलिरहेको छ । सुधार गरौँ, अब जुनसुकै नेता आउँदा सिडियोसाब कुद्ने र लामो भाषणबाजी सुनेर बस्ने प्रचलन हटाऔँ । सिडियोबाट पनि कुनै नेता आउँदा ती नेतालाई खुसी पार्न उनको पछि दगुर्नको साटो सेवा प्रवाहमा दगुर्ने बानीको विकास होस् । नेताले बोलाए पनि सिडियोले यस्तो भन्न सकून : ‘म तपाइँको कार्यक्रममा बस्न सक्दिनँ, मैले त सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्छ नेताज्यू सरी !’