चितवन। चितवन राष्ट्रिय निकुञ्जमा राजस्व संकलन तीव्ररुपमा भइरहेको छ । निकुञ्जले दिएको विवरणअनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को सात महिनामा ५ करोड बढी राजस्व संकलन गरेको छ । निकुञ्जले चालु आर्थिक वर्षको साउन महिनादेखि फागुनसम्म ५ करोड ३१ लाख २८ हजार ९३४ रुपैयाँ ८२ पैसा राजस्व संकलन गरेको जनाएको छ ।
निकुञ्जले सबैभन्दा बढी राजश्व पर्यापर्यटनबाट संकलन गरेको छ । यस वर्ष चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गरी १ लाख ८२ हजार २५४ जना पर्यटक घुम्न आउँदा निकुञ्जमा पर्यापर्यटनबाट मात्रै ४ करोड ५२ लाख ४२ हजार २५० रुपैयाँ राजस्व संकलन गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
तिवारीका अनुसार चालु आर्थिक वर्षमा निकुञ्ज घुम्न आउने पर्यटकमध्ये नेपाली पर्यटक ४८ हजार ८८८ रहेका छन् । सार्क पर्यटक २ हजार ७०३ र अन्य विदेशी पर्यटक २ हजार ८५४ जना रहेका छन् ।
गत वर्ष चितवन निकुञ्जले पर्यापर्यटनबाट २ करोड २९ लाख ८० हजार ३४६ रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा यसवर्ष निकुञ्जमा पर्यापर्यटनबाट राजस्व संकलन ५० प्रतिशतले वृद्धि भएको देखिन्छ ।
सूचना अधिकारी तिवारीका अनुसार गत वर्षको तुलनामा यसवर्ष निकुञ्जमा पर्यटकको संख्या वृद्धि भएसँगै राजस्व संकलन पनि बढेको हो । उनी भन्छन्, ‘अघिल्लो वर्ष कोभिडका कारण पर्यटन क्षेत्र शिथिल बनेको थियो । कोभिडका कारण पर्यटकलाई निकुञ्ज घुम्न पनि रोक लगाइएको थियो । अहिले कोरोना नियन्त्रण भएसँगै पर्यटकको संख्या बढेको छ । यसले गर्दा राजस्व संकलनमा पनि सुधार देखिएको छ ।’
त्यस्तै, निकुञ्जले काठ दाउरा बिक्रीबापत ३ लाख ५९ हजार ९०४ रुपैयाँ राजस्व संकलन गरेको छ भने, गैरकाष्ठ वन पैदावर बिक्रीबापत ३० लाख ४४ हजार ८११ रुपैयाँ, दण्ड सजायबाट प्राप्त राजस्व बापत २८ लाख १० हजार ९४ रुपैयाँ र अन्य शीर्षकबाट १६ लाख ७१ हजार ८७५ रुपैयाँ राजस्व संकलन गरेको छ ।