चितवन । भरतपुर महानगरमा गठन भएको प्रज्ञा प्रतिष्ठानका सदस्यहरुले आज सपथ लिएका छन् ।
भरतपुर महानगरकी प्रमुख रेनु दाहालबाट मनोनयन भएका प्रज्ञा प्रतिष्ठानका सदस्यहरुले सपथ लिएका हुन् । आज (मंगलबार) भरतपुर महानगरको कार्यालयमा प्रज्ञा प्रतिष्ठान घोषणा तथा शपथ ग्रहण समारोह भएको हो । महानगर प्रमुख एवम् कुलपति दाहालले सबै सदस्यहरुलाई शपथ ग्रहण गराएकी हुन् ।
कार्यक्रममा कुलपति दाहालले महानगरले विगतमा ध्यान दिन नसके पनि पछिल्लो समय प्रज्ञा प्रतिष्ठान महत्वपूर्ण कार्य हो भनेर गठन गरेको बताइन् । कुलपतिसहित प्रज्ञा प्रतिष्ठानका ३१ जना सदस्यले शपथ लिएका छन् । शपथ लिने कार्यक्रममा दाहालले, प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने कुरामा आफनो पूरा सहयोग रहेको बताइन् । उनले भनिन्, ‘प्रज्ञा प्रतिष्ठान स्थापना गर्दा मेरो कुनै हस्तक्षेप भएन, मैले पूरा सर्मथन गरे ।’ साथै दाहालले अब आउने दिनमा प्रज्ञा प्रतिष्ठान कोष खडा गरी बजेट विनियोजन गरिने बताएकी छिन् ।
त्यस्तै, भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले प्रज्ञा प्रतिष्ठान स्थापना गरेकोमा महानगरलाई धन्यवाद दिएका छन् । कार्यक्रममा मन्तव्य राख्दै भरतपुर महानगरपालिका उपप्रमुख एवम् प्रज्ञा सभा सदस्य पार्वती शाहले प्रज्ञा प्रतिष्ठानलाई संरक्षण गर्न सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताइन् ।