चितवन ।पछिल्लो समय चितवनमा कोरोना संक्रमित मृत्युदर, संक्रमणदरमा उत्तारचढाव हुदै गएको छ । केही दिन अघिको तथ्यांकलाई हेर्ने हो भने मृत्युदर घटेर दुईजनासम्म पुगेको चितवनमा बिहिबारमात्रै ८ जनाको मृत्यु भएको छ । बुधबार चितवनमा ३ जनाको मात्रै मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार मृत्यु हुनेमा भरतपुर अस्पतालमा ४ जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा २ जना रहेका छन् । त्यसैगरी विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा गरेर १३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एचडीयूमा ४० जना, जेनरल बेडमा १११ जना गरी जम्मा २५१ जना अस्पतालमा उपचार गराइरहेका छन् । विगत २४ घण्टामा १९ जना बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
विगत २४ घण्टामा चितवनमा ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ३३ जना, खैरहनीमा ६ जना, माडीमा ४ जना, रत्ननगरमा ९ जना र राप्तीमा २ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार ३०५ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार १४४ जना, अस्पतालको आइसोलेसनमा १२४ जना र सार्वजनिक आइसोलेसन केन्द्रहरुमा ३७ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आजसम्म चितवनमा २५७ जनाले ज्यान गुमाएका छन् ।