चितवन।दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिग आज (बिहीबार) देखि हुँदैछ । यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा हुँदैछ । लिगको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्नेछन् ।
लिगका लागि गत फागुन ३ गते अखिल नेपाल फुटबल संघ एन्फा र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको थियो । पहिलो चरणको लिगका लागि तयारी पुरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।
डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल बिराटनगरमा हुनेछ ।
प्रत्येक दिन दुई खेल खेलाइनेछ । उद्घाटनको दिन भने एक खेल मात्रै हुनेछ । यसका लागि मैदानमा अस्थाई प्याराफिट बनाईएको छ । यस पटक लिगमा तीन बिभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछ ।
उद्घाटन खेलमा भोलि साबिक विजेता एपिएफ र साबिक उपबिजेता त्रिभुवन आर्मी भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ ।
तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०-५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।
सबै टिमलाई तयारीका लागि दश दिने एन्फाकी केन्द्रीय सदस्य पेमा लामाले जानकारी दिईन् । लिग सम्पन्न गर्नका लागि दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ । खेल हेर्नका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको स्थानीय आयोजक चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । उद्घाटनको दिन भने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उनले बताए ।