चितवन । अष्ट्रेलियामा रहेका चितवनवासीहरूको संस्था चितवन समाज भिक्टोरियाले इच्छाकामना गाउँपालिकालाई दुई थान मनिटर सहयोग गरेको छ । कोभिड अस्थायी अस्पताल सञ्चालन गर्दै आएको सो गाउँपालिकाले स्थायी अस्पताल समेत निर्माण गरिरहेको छ ।
पालिकाले कोभिड संक्रमण भएका बिरामीका लागि स्थापना गरेको कोभिड अस्थायी अस्पतालमा राख्ने गरी दुई थान ‘प्यासेन्टमनिटर’ दिइएको हो । चितवन समाजभिक्टोरियाले पठाएको १ लाख ५० हजार ४ सय रुपैयाँमा खरिद गरिएका मनिटर स्वास्थ्य कार्यालय चितवन मार्फत् गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य कार्यालय चितवनको प्राङ्गणममा आज ती सामग्री कार्यालय प्रमुख दीपक तिवारीमार्फत् ईच्छाकामना गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख वासु सापकोटालाई हस्तान्तरण गरिएको हो । सो अवसरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, पत्रकार विनोदबाबु रिजाल, भरतपुर अस्पतालका लीलाधर पौडेलको उपस्थिति रहेको थियो ।
मनिटर प्राप्त गरेपछि तिवारीले यसलाई अधिकतम उपयोग सापकोटालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “विदेशमा रहनु भएका चितवनवासीको यो सहयोग महत्वपूर्ण हुनेछ ।”
कोभिड नियन्त्रणमा हातेमालो गर्नका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूको तर्फबाट सहयोग पठाइएको चितवन समाज भिक्टोरियाका अध्यक्ष अनुपम पाठकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसबाट त्यस क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।” आगामी दिनमा पनि सहयोगलाई निरन्तरतता दिईने उहाँको भनाई छ ।
इच्छाकामना गाउँपालिकाले १५ शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गरिरहेको छ । त्यहाँ यसअघि २ वटा मात्रै प्यासेन्टमनिटर उपलब्ध छन् । संक्रमितको आधारभूत स्वास्थ्य अवस्था थाहा पाउन थपिएको मनिटरले सहजता हुने स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो । कोरोना अस्थायी अस्पतालबाट हालसम्म १८ जनाले सेवा लिएको सापकोटाले जानकारी दिनुभयो ।
गाउँपालिका प्रमुख गीता गुरुङले विदेशमा रहेका चितवनवासी र नेपालीहरुको सहयोग निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यो संस्थाले भूकम्पका बेला पनि सहयोग गरेको थियो ।” चितवनसहित धादिङ, गोरखा र तनहुँका बिरामी यसबाट लाभान्वित हुने गुरुङको भनाई छ ।
चितवन समाज भिक्टोरियाले अष्ट्रेलियाबाट विभिन्न समयमा सहयोग पठाइरहेको छ । संस्थाले मुख्यगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा पटक–पटक सहयोग गरेको उपाध्यक्ष विपुल ज्ञवालीले बताउनुभयो ।
यही जेठमा समाजले ग्रिन लायन्स क्लब भरतपुरमार्फत भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड उपचाररत बिरामीलाई खाना खुवाएको थियो । त्यसका लागि समाजले रु.२ लाख सहयोग गरेको छ ।
संस्थाका पूर्व अध्यक्ष सोमप्रसाद गुरुङका अनुसार समाजले गैरआवासीय नेपाली संघ अष्ट्रेलियामार्फत नेपालमा कोभिड नियन्त्रणमा सघाउन १ हजार २ सय अष्ट्रेलियन डलर सहयोग पठाएको थियो । यो रकम नेपालमा अक्सिजन ग्यास व्यवस्थापनका लागि पठाइएको उहाँले जानकारी दिनुभयो । यसअघि समाजले क्रुजपार्टीबाट उठेको ४ हजार अष्ट्रेलियन डलर अष्ट्रेलिया–नेपाल मल्टीकल्चरल सेन्टरकालागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।
समाजले नेपालमा २०७२ सालमा विनासकारी भूकम्प जाँदा पनि सहयोग गरेको थियो ।