चितवन । चितवनमा एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिका गरी सात वटा स्थानीय तह रहेका छन् । २०७४ सालको चुनावमा पूर्वीचितवनका चार पालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । भरतपुर महानगरपाकिामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल निर्वाचित भएकी हुन् । माडी नगरपालिकामा पनि माओवादी केन्द्रकै ठाकुर ढकाल निर्वाचित भए । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार गीताकुमारी गुरुङ निर्वाचित भएकी छन्।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्नेहरुले पार्टी पंक्तिहरुमा लविङ गर्न थालेका छन् । चितवनका सातै पालिकाका मेयरहरुले निर्वाचनमा फेरि दोहोरिने सङ्केत गरेका छन् । उनीहरुले पार्टी पंक्तिहरुमा राम्रो काम गरेको हिसाबले फेरि एक पटक मेयरको उम्मेदवार बन्नको लागि लविङ गरिरहेका स्रोतको भनाइ छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल हाल नेकपा माओवादी केन्द्रकी चितवनकी इन्चार्जसमेत भएकी छन् । रेनु दाहाल फेरि पनि एक पटक मेयर बनेर पूरा भइनसकेको (जस्तै गोतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पुल्चोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, ल्याण्डफिल साइट) कामलाई सम्पन्न गर्नको लागि मेयर बन्नुपर्ने आवाज सामाजिक सञ्जालमा आइरहेको छ । कांग्रेससहितको गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दाहाल २०७४ सालको स्थानीय तहको चुनावमा भरतपुर महानगरमा निर्वाचित भएकी हुन् । स्रोतका अनुसार रेनु दाहालबाट पनि पार्टीपंक्तिमा अधुरा कामहरुलाई पूरा गर्न एक पटक फेरि मेयर बन्ने इच्छा प्रकट भएको छ । सामाजिक सञ्जालमा एक पटक फेरि भरतपुर महानगरपालिकामा रेनु दाहाल नै मेयर बन्नुपर्ने चर्चापरिचर्चा भइरहेको पाइन्छ ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालबाट पनिएकपटक फेरि मेयर बन्ने चाहना प्रकट भएको स्रोतको भनाइ छ । मेयर बरालले पार्टीले जिम्मा दिए फेरि एक पटक मेयरको उम्मेदवारी बन्ने बताएकी छन् । नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेकी बरालले पार्टीले जिम्मा दिए पुनः एक पटक मेयरमा उठेर थप काम गर्ने बताएकी छन् । राप्तीकी मेयर बरालले भनिन्, ‘राप्तीमा अझ धेरै काम गर्ने इच्छा छ, मेरो कार्यकालमा सुरु भएका तर पूरा नभएका थुप्रै काम छन्, पार्टीले फेरि एकपटक मेयरको टिकट दिए उठ्छु ।’
इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङ २०७४ सालको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् । कांग्रेस स्रोतका अनुसार गाउँपालिका प्रमुख गुरुङ फेरि मेयर पदको लागि लविङमै रहेकी छन् । ‘गीताकुमारी गुरुङले इच्छाकामनाको समग्र विकासमा अत्यत्तै राम्रो काम गर्नुभएको छ, उहाँले कामको हिसाबले फेरि दोहोरिने इच्छा प्रकट गर्नु स्वभाविक होजस्तो मलाई लाग्छ’ कांग्रेसका एक कार्यकर्ताले भने ।
रत्ननगर नगर प्रमुख नारायण वन यस विषयमा केही बोलेका छैनन् । उनी नेकपा एमालेबाट निर्वाचित मेयर हुन् । कुराकानीको क्रममा पनि वनले पार्टीको निर्णयलाई स्वीकार्ने बताइरहेका छन् । उनी निकटका मानिसबाट फेरि एक पटक वनलाई नै रत्ननगरको मेयरको टिकट दिनुपर्ने भनाइहरु पार्टीमा आइरहेको स्रोतको भनाइ छ । नगरपालिकाको मेयर उपमेयर एमालेमा प्रदेश कमिटीले फाइनल गर्ने फाइनल गर्ने मापदण्ड तय भएको छ । रत्नगरका एमाले कार्यकर्ताका अनुसार रत्ननगरमा पार्टीले पुनः एकपटक मेयरको टिकट दिए सजिलै निर्वाचित हुनसक्ने एकमात्र उम्मेदवार नारायण वन नै हुन् । ती नेताका अनुसार वन पुनः एक पटक मेयरमा दोहोरिन खोजिरहेका छन् ।
नेकपा एमाले चितवनका इन्चार्ज देवी ज्ञवालीेले राम्रो काम गरेका मेयरहरुलाई पार्टीले विश्वास गरेर फेरि पनि मेयरकै टिकट दिनसक्ने बताए । उनले भने, ‘मेयरहरु पुनः दोहोरिन पनि सक्ने भयो, नयाँ मानिस आउन पनि सक्ने भयो । उपमेयरले पनि मेयरको टिकट पाउन सक्छन् । पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछ, पार्टीको निर्णयलाई शीरमा राखेर सबैले स्वीकार्नेछन् ।’
२०६४ सालको चुनावमा सांसद र २०७४ सालको चुनावमा खैरहनी नगरपालिकाको मेयर बनेका लालमणि चौधरी पनि वैशाख ३० गते हुने चुनावमा मेयर पदमा उठ्ने कि नउठ्ने भन्ने विषयमा खासै मुख खोलेका छैनन् । पार्टीले पुनः मेयरकै टिकट दिए आफू व्याक नहट्ने उनी बताउँदै आएका छन् । खैरहनीका एमालेका कतिपय नेताहरुले खैरहनीको विकासमा पुन लालमणि चौधरी चाहिने बताइरहेका छन् । उच्च काम गरेबापत् पटकपटक पुरस्कृत भएको खैरहनी नगरपालिकामा मेयर चौधरीले राम्रो काम गरेर नगरवासीको मत जितेका एमालेका स्थानीय एक नेताले बताए । उनका अनुसार मेयर चौधरीले यस विषयमा बाहिर केही नबोले पनि सम्बन्धित ठाउँमा आफ्ना कुरा राख्नुभएको छ ।
माडी नगरपालिकाका ठाकुर ढकाल २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । उनी पनि पुनः माडीको मेयर पदमा दोहोरिने इच्छा जाहेर गरेका छन् । उनीबाट पनि पार्टीपंक्तिहरुमा पुनः माडीको मेयर पदको लागि लविङ भइरहेको स्रोतको भनाइ छ । यद्यपी अहिले नै उनले बाहिर मुख खोलेका छैनन् । यस्तै, कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले पनि पुनः मेयर पदमा दोहोरिने इच्छा प्रकट गरेका स्रोतको भनाइ छ । २०७४ सालमा एमालेबाट निर्वाचित भएका श्रेष्ठले पनि दोहोरिने इच्छा प्रकट गरेका छन् ।
नेकपा एमाले चितवनका इन्चार्ज देवी ज्ञवालीेले राम्रो काम गरेका मेयरहरुलाई पार्टीले विश्वास गरेर फेरि पनि मेयरकै टिकट दिनसक्ने बताए । उनले भने, ‘मेयरहरु पुनः दोहोरिन पनि सक्ने भयो, नयाँ मानिस आउन पनि सक्ने भयो । उपमेयरले पनि मेयरको टिकट पाउन सक्छन् । पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय गर्नेछ, पार्टीको निर्णयलाई शीरमा राखेर सबैले स्वीकार्नेछन् ।’