चितवन। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ। आज (आइतबार)देखि चितवनसहित देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन सुरु भएको हो।
आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन खुला गरेको हो । जसका लागि देशभरका जिल्लामा म्यादी भर्नाका लागि कोटाअनुसार आवेदन दिन सक्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
चितवनमा यस वर्ष एक हजार ७०९ जना म्यादी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले यही चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।