जुम्ला।हिमाली जिल्लाको गौरवको आयोजनामध्येको एक धौलिगाड वृहत खानेपानी आयोजना शिलान्यास गरिएको छ । जुम्लामा रहेको यो आयोजनाको शिलान्यस सनिबार खानेपानीमन्त्री उमाकान्त चौधरीले गरेका हुन् ।
यो आयोजना सम्पन्न भएपछि जुम्लाका नौ हजार एक सय आठ घरधुरीका ४४ हजार एक सय ६३ जना लाभान्वित हुनेछन् । आयोजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ रहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपाने बताए ।
उनले भने, ‘जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन इस्टिमेटमा उल्लेख छ । प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानी खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६ सय ९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ । संस्थागत तीन लाख ८४ हजार पाँच सय ६९ लिटर प्रतिदिन पानी खपत हुने आयोजना प्रमुख न्यौपानेले बताए ।