चितवन । माडी ८, इन्द्रबस्तीमा विभिन्न दल त्याग गरी ६३ जना नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । साविक ईन्द्रबस्ती स्कूल भवन परिसरमा सम्पन्न वडास्तरीय बिस्तारित बैठकको सन्दर्भ पारी स्थानीयबासी धन बहादुर तामाङ र डिलबहादुर गुरुङसहित ६३ जनाले माओवादी केन्द्र प्रवेश गरेको सो पार्टीका माडी नगर सचिव नेत्र काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेताहरु ठाकुर प्रसाद ढकाल, दण्डपाणी पौडेल, ऋषि काफ्ले, रबि सापकोटा, प्रभु प्रसाद महतो, सन्तोष पनेरू, नेत्र काफ्ले लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा सो पार्टीका जिल्ला, नगर र वडास्तरका नेताहरुको आतिथ्य रहेको थियो ।
स्थानीय निर्वाचन लक्षित गरी साँगठनिक सुदृढिकरणमा जुटेको देखिने माओवादी केन्द्र माडीले आफू कमजोर रहेका वडाहरुमा ध्यान केन्द्रित गरेको बुझिन्छ । यसअघि समेत सो वडामा माओवादीले पटक पटक पार्टी प्रवेश कार्यक्रम गरिसकेको छ ।