चितवन । नेकपा (माओवादी केन्द्र) चितवनमा नयाँ नेतृत्व चयन भएको छ । माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेनु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीलाई दिएको छ ।
इन्चार्ज रेनु माओवादी केन्द्रकी केन्द्रीय सदस्य र भरतपुर महानगरको मेयर हुन् । यसअघि पनि भरतपुरको इन्चार्जको जिम्मेवारीमा रहेकी दाहालले अहिले पहिलो पटक जिल्ला इन्चार्जको जिम्मा पाएकी हुन् । चितवन प्रेससँग संक्षिप्त कुराकानी गर्दै इन्चार्ज दाहालले नयाँ नेतृत्वसँगै पार्टी थप मजबुत र जनउत्तरदायी हुँदै जाने बताइन् ।
त्यस्तै, चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष समेत भइसकेका युवा हुन्। अधिकारीले माओवादी केन्द्र चितवन जिल्ला संयोजकको पहिलो पटक जिम्मेवारी पाएका हुन् । यसअघि अधिकारी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।