चितवन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नाम सुन्ने वित्तिकै संसार र छरिएका नेपालीले आफ्नै ‘साझा संगठन’ को रूपमा लिन्छन्। विश्वभर छरिएका नेपालीको छाता संगठन हो एनआरएनए ।
संसारभरका सबै नेपालीलाई समेट्ने र राजनीतिक गन्धबाट टाढा राख्ने उद्देश्य लिएर यसको स्थापना गरिएको हो । विडम्वना, यतीबेला एनआरएनभित्र राजनीति छिरेको आभास भइरहेको छ । यसको नेतृत्वको कागि चुनाव हुन सकेको छैन । पटकपटक चुनाव सरिरहेको छ । एनआरएनको नेतृत्व लिनको लागि दलगतको बिल्ला लिनुपर्ने अवस्था भएको देखिन्छ ।
दलीय प्यानलबाहेक स्वतन्त्र उठ्ने जो कोहीले अहिले भोट नै पाउँदैनन्। एक स्वतन्त्र संस्थालाई दलीय रूपमा रूपान्तरण गरेर राजनीतिको फोहोर खेल यतिबेला एनआरएनमा छिरेपछि संस्थाप्रति घृणा बढ्न थालेको छ । एनआरएन भित्रको चरम राजनीति निराशा बढेको छ। संस्थाको बदनामी बढिरहेको छ। यस्तै निराशाबीच विदेशमा रहेका हजारौं नेपाली साधारण सदस्य बन्नसमेत रूची देखाएका छैनन्।
यस्तो अवस्थामा एनआरएनका सचिव आरके शर्माले (राजेन्द्रकुमार) ले घरभित्रको झगडा मिलाउने र संस्थालाई कुनै हालतमा टुट्न नदिने बताएका छन् ।
भरतपुर फुर्तिचोक निवासीसमेत रहेका आरके शर्मा उपाध्यक्षको दावेदारसमेत हुन् । चितवन आएको बेला उनले भने, ‘संस्थाको गरिमामा आँच आउने गरी केही गतिविधि भएका छन्, यसलाई निराकरण गरी संस्थालाई अगाडि बढाउँछौँ । कुनै हालतमा पनि हामी संस्थालाई टुट्न दिनेछैनौँ ।’ उनले एनआरएनए गैर राजनीतिक संस्था भएको हुनाले यसलाई राजनीतिबाट टाडै राख्न उनले जोड दिए । उनले भने, ‘घरभित्रको झगडाले मेरो मन दुखेको छ, यसको समाधान गरेर संस्थालाई सिंगो राख्नेछौँ ।’
उनले आज चितवनका पत्रकारसँगको कुराकानीको क्रममा भने, ‘नेतृत्वमा भएको खिचातानी नेपालप्रतिको अगाध मायाले हो, हामी समृद्ध नेपाल चाहन्छौँ।’ नेपालमा वार्षिक ७ देखि ८ खर्ब रेमिट्यान्स नेपाल आइरहेको दावी गर्दै उनले विदेशमा बसेका सारा नेपालीहरुको संस्था एनआरएनएको गरिमालाई कायमै राख्न पहलकदमी भइरहेको बताए ।
उनले भने, ‘९८ प्रतिशत नेपाली बाध्यताले विदेशीएका हुन्, नपुगेर गएका हुन् । उनीहरु संघर्ष गर्दै उतैको वासिन्दा भएपनि नेपाल र नेपालीप्रति अत्यन्तै माया राख्छन् । फर्केर केही गर्न खोजिरहेका छन्, तर सरकारले अझै राम्रो वातावरण दिइरहेको छैन ।’ उनले सरकारलाई हाइड्रोमा लगानी गर्न सुझाए । उनले भने, ‘पेट्रोल डिजेलमा धेरै पैसा बाहिरियो, देश झनझन् गरिब हुँदै गयो, खाना पकाउनेदेखि गुड्ने गाडीसम्म सबै इलेक्ट्रिसिटी हुनुपर्छ, त्यसपछि बल्ल देश धनी हुँदै जान्छ ।’
उनले १० वर्षमा नेपाललाई विकसित देशमा रुपान्तरण गर्न सकिने बताए । उनले भने, ‘दुई वटा समृद्ध देशको बीचमा नेपाल छ, यसले त दुई देशको विदेशी पाहुनामात्र बोलाएर सुन्दरता देखाएर पनि सम्पन्नशाली बन्न सक्ने छ, तर यसतर्फ सरकारलगायत सबैले ध्यान दिन जरुरी छ ।’ उनले नेपालले टुरिजमबाट मात्रै देशलाई सम्पन्न शाली बनाउन सक्ने बताए । उनले भने, ‘हाइड्रो र टुरिजमलाई मात्र अगाडि बढाउने हो भने १० वर्षमा नेपालले आफूलाई कोल्टे फर्काउन सक्छ ।’