चितवन। पवित्र तीर्थस्थल देवघाटधाममा निर्माणाधीन विद्युतीय शवदाह गृह तीन वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । शवदाह गृहको तेस्रो पटक पनि पुनः म्याद थप्ने तयारी भइरहेको छ ।
सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले शवदाह गृह निर्माणको लागि ठेक्का लगाएको हो । भरतपुर महानगरले यसलाई गौरवको योजनाभित्र राखेको छ । डेढ वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने शव दाह गृहको यसअघि दुई पटक म्याद थपेर लम्बाइएको छ । तर पनि समयमा काम नसकिएपछि तेस्रो पटक म्याद थप्ने तयारी भइरहेको सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनका प्रमुख प्रकाश अर्याल बताउँछन् ।
हालसम्म ५० प्रतिशत काम पनि पूरा हुन नसकेको उनी बताउँछन् । उनी भन्छन, ‘कहिले कोरोना त कहिले बर्खे भेलका कारण कामले गति लिन सकेन । कुनै समय बाढीले रिटेनिङ वालमा क्षति पु¥याएर बगायो ।’ उनका अनुसार निर्माण व्यवसायीले समयमै जगको काम गर्न नसक्दा ढिलाइ भएको हो । अब भने जतिसक्दो चाँडै काम सम्पन्न गर्ने प्रयास भइरहेको उनको दावी छ ।
आयोजना प्रमुख अर्यालका अनुसार दोस्रो पटक थपिएको म्यादअनुसार यही चैतभित्रमा काम सम्पन्न हुने भनिएको थियो । तर, चैतसम्ममा पनि शवदाह गृह निर्माण सम्पन्न हुनेमा आयोजना प्रमुख नै विश्वस्त छैनन् । यदी यसअवधिमा पनि काम सम्पन्न नभए पुनः तेस्रोपटक म्याद थपिने तयारी भइरहेको छ । उनले अब म्याद थपियो भने असारसम्म हुने बताए ।
उनका अनुसार आउँदो असार मसान्तसम्म काम सम्पन्न हुने भएको छ । शवदाह गृहको पहिलो निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । शवदाह निर्माणको जिम्मा मिलिनियम सिद्धगढी जेभीले लिएको छ । हाल पिल्निटिङ लेवलको टायलिङ ढलान गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ । मिलिनियम सिद्धगढी जेभीका सुमन भण्डारीका अनुसार होलीको अर्को दिन अर्थात् चैत ५ गतेदेखि ढलानको प्रक्रिया सुरु हुने भएको छ । उनका अनुसार अहिले दैनिक १८ जना श्रमिकहरुले काम गरिरहेका छन् । उनले ९ महिनासम्म म्याद थप हुन सके काम सकेर हस्तान्तरण हुने दावी गरे ।
२०७५ माघ ३ मा ९ करोड ९२ लाख रुपैयाँमा काम सक्ने गरी मिलेनियम सिद्धगढी जेभीसँग ठेक्का सम्झौता भएको थियो ।