चितवन।जिल्ला प्रहरी कार्यालय चितवनले होली पर्वमा जबर्जस्ती रंग दल्ने, अण्डा, लोला, मोबिल, फोहोर पानीको प्रयोग गर्ने जोकोहीलाई नियन्त्रणमा लिने भएको छ । चितवन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले सभ्य तरिकाले होली पर्व बनाउन सबैमा आग्रह गरेका छन् ।
होलीमा मापासे गरेर सवारी साधन चलाउने, मोटरसाइकलमा तीन जना सवार हुने, हेलिमेटको प्रयोग नगर्नेलाई पनि कानुनी दायरामा ल्याउने चितवन प्रहरीको भनाइ छ । होली खेल्दा मादक पदार्थ सेवन, गाँजा, भाङ, लागूऔषध तथा नशालुपदार्थ सेवन नगर्न प्रहरीले अनुरोध गरेको छ ।
सडकमा मापासे, गाँजा, भाङ तथा लागूऔषध तथा नशालुपदार्थ सेवन गरी होहल्ला गर्ने, सामाजिक, धार्मिक र साम्प्रादायिक सद्भावमा खलल पुग्नेजस्ता क्रियाकलाप गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चितवन प्रहरीले जनाएको छ । कुनै भाषाको अस्लिल गीत नबजाउन र डिजे तथा अन्य लाउडस्पिकर चर्को साउन्डमा नबजाउन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।