चितवन।चितवन माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडी उपत्यकालाई स्वीजरल्याण्ड बनाउन सकिने बताएका छन् ।
माडी नगरपालिका वडा नं ३ वडा कार्यालय वसन्तपुरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख ढकालले भने, ‘मैले चुनावको मुखमा आएर यो भनेको होइन, साँच्चै माडीलाई स्वीजरल्याण्ड बनाउन सकिन्छ ।’ उनले माडीले वार्षिक एक अर्बसम्म आम्दानी गर्न सक्ने बताए ।
कार्यक्रममा उनले भने, ‘माडीका जनता ट्याक्टर चढेर भरतपुर जाँदा माडीका बाँदर आए भनेर भन्थे, अहिले भरतपुरका मान्छे माडी घुम्न आउँछन् । यहाँका होमस्टेमा बस्छन्, घुम्छन् । यो त बनाउन सकियो नि ।’ उनका अनुसार अझै माडीमा होमस्टे अभाव भइरहेको बताए । उनले भने, ‘होमस्टे अझ थप्न छ, माडीलाई विश्वकै पर्यटकीय गन्तव्य बनाउन सकिन्छ, यति गरिसकेपछि माडी स्वीजरल्याण्ड कसो नबन्ला ?’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको संघीय चुनावमा माडीलाई मणि बनाउने प्रतिबद्धता गरेका थिए । कुनै समय अध्यक्ष प्रचण्डले नेपाललाई नै स्वीजरल्याण्ड बनाउने बताएका थिए ।