चितवन । चितवनमा पछिल्लो समय प्रहरीलाई तीन कारण टाउको दुखाइ बनिरहेको छ । पहिलो दुर्घटना, दोस्रो लागूऔषध र तेस्रो ठगी घटना चितवन प्रहरीको लागि च्यालेन्ज बनिरहेको छ ।
आज पत्रकारसँगको परिचयात्मक कार्यक्रममा चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले चितवनमा पछिल्लो समय दुर्घटना, लागूऔषध र ठगीका घटनाहरु नै प्रहरीका लागि च्यालेन्ज बनेको बताए । उनले भने, ‘हिजोको अवस्था र आजको अवस्थामा थोरै फरक छ, हिजोको जस्तो ‘डन’वाद आज छैन, तर ठगीका घटनाहरु बेग्रल्तीरुपमा बढेका छन् ।’
उनले चितवनमा दुर्घटना पनि अत्यधिक बढेको बताए । उनले भने, ‘म चितवन आएको २० दिन भयो, यहाँ आएदेखि नै सिसिक्यामेरामा ध्यान दिएको छ, महानगरपालिकाले सहयोग पनि गरिरहेको छ ।’ उनका अनुसार भएका सिसिक्यामेरा कति बिग्रेर बसेका छन् । कति मर्मतको काम भइरहेका छन् । उनले चितवनमा हाइवे केन्द्रित बजार र बस्ती भएका कारण दुर्घटना बढेको बताए । उनले भने, ‘सबै हाइवेमै छ, बस्ती हाइवेमै, बजार हाइवेमै । यसकारणले पनि दुर्घटना बढेको हो ।’
उनले चितवनमा लागूऔषध र ठगीको घटना पनि बढिरहेको बताए । उनले भने, ‘ठगीका उजुरी चितवन प्रहरीमा धेरै आइरहेका छन्, पछिल्लो समय चेक बाउन्सरका उजुरी पनि चितवन प्रहरीमा आइरहेको छ ।