चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर–३ बेल्सीस्थित अवैध विषादी र मलको गोदाममा सिल गरेको छ। शिवशक्ति बायो प्लान्टेक मल्टिनेशनल प्रालि नामक कम्पनीले अवैध रुपमा बिक्री गर्दै आएको शंकास्पद मल तथा विषादीको गोदाममा प्रशासनले बुधबार शिल गरेको हो।
उक्त कम्पनीले भारतबाट ल्याउँदै गरेको ना ३ ख १८९ नम्बरको ट्रकमा मल र विषादी शंकास्पद भएको भन्दै भण्डारा प्रहरीले उक्त ट्रकलाई गत माघ १ गते नियन्त्रणमा लिएको थियो। मल र विषादीको अनुसन्धानका लागि कृषि ज्ञान केन्द्र चितवनमा पठाइएको थियो।
सोही सामग्रीको ल्याब परिक्षणका लागि कृषि ज्ञान केन्द्रबाट काठमाडौंको रातोपुल स्थित वाटर इन्जिनियर एण्ड ट्रेनिङ्ग सेन्टरमा गरिएको परीक्षणको रिपोर्टअनुसार उक्त सामग्रीहरुमा रासायनिक विषादीको अवशेष पाइएपछि प्रशासनले गोदाममा शिलबन्दी गरेको हो । ल्याब रिपोर्टअनुसार नेपालमा अवैध मानिने विषादी धात्री ४८४ थान, जुपिटर १ लिटरको बोतल १० थान, जुपिटर ५०० मिलिलिटरको १३२ थान प्रशासनले जफत गरेको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कृषि ज्ञान केन्द्र चितवनको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको उक्त सामाग्रीलाई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि रत्ननगर नगरपालिका ३ स्थित राधा राउतको घरको तल्लो तलाको सटरमा शिलबन्दी तथा मुचुल्का गरी राखिएको छ। उक्त कम्पनीलाई नेपाल सकारद्वारा पन्जीकरण नगराई जीवनाशक विषादीको कारोबार तथा बिक्री वितरण गरेको भन्दै कम्पनीलाई विषादी ऐन २०७६ बमोजिमको कसुर ठहर गर्दै जिल्ला अदालत चितवनमा मुद्दा चलाउने निर्णय समेत गरिएको प्राशासनले जनाएको छ।