काठमाडौ । नवनिर्मित पुलको शिलालेखमा आफ्नो नाम नभएको भन्दै एक जना गाउँपालिकाकी उपाध्यक्षले शिलालेख नै फुटाएर आफ्नो नाम मार्करले लेखेकी छन् । रूपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष सुनिता कलवारले यस्तो गरेकी हुन् । शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै रिसाएकी उपाध्यक्षले फुटाएर मार्करले आफ्नो नाम थपेकी छन् ।
वडा नम्बर ७ मा बनाइएको झोलुंगे पुल बिहीबार उद्घाटन गरिएको हो। तर उपाध्यक्षको नाम शिलालेखमा थिएन । उनी आफ्नो नाम नराखेको भनेर रिसाइन् । उपाध्यक्ष कलवारले शिलालेख तोडफोड गरेर हातैले आफ्नो नाम लेखेकी छन्।
यो पुल कूल ७२ लाखको लागतमा निर्माण भएकोगाउँपालिकाले जनाएको छ । २०७७ माघ ८ गते गाउँपालिका अध्यक्ष केशवन्द बानियाँले पुल शिलान्यास गरेका थिए। शिलान्यास र उद्घाटन गर्दा प्रमुख बानियाँको मात्रै नाम राखिएकोमा उपप्रमुख कलवार असन्तुष्ट थिइन्। आफ्नो नाम पनि शिलालेखमा हुनुपर्ने कलवारको भनाई छ । सरकारी लगानीमा बनाइएको पुलमा आफु सहित अन्य जनप्रतिनिधिको पनि योगदान रहेको भन्दै त्यसको कदर हुनुपर्ने उनको भनाई थियो ।
‘शिलालेखमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र सदस्यको नाम राखियो, उपभोक्ता समितिका अध्यक्षको नाम पनि छ तर मेरो नाम किन राखिएन ? उनको प्रश्न छ । उनले पुल उद्घाटनमा आफुलाई जानकारी समेत नगराइएको भन्दै गुनासो गरेकी छन् ।