चितवन । चितवनका बाम बुद्धिजीवी तथा प्रखर वक्ता प्रेम रिमालले एमसिसी पास गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग गरेसँगै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनले पटकपटक सामाजिक सञ्जालमा प्रचण्डविरुद्ध तिखा शब्द वाण हानिरहेका छन् ।
बुद्धिजीवी रिमालले हिजो प्रचण्डलाई मत माग्दै हिँडेको स्वीकार गर्दै अहिले आएर उनै प्रचण्डले गद्दारी गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्ड र प्रचण्डका तर्फबाट उम्मेद्वार हुने जो कसैलाई मतदान गर्नु भनेको जन्मभूमिमाथि भएको बलात्कारमा सहभागी हुनु हो।’ प्रचण्डले हिजो जति योगदान गरे त्यसको कदर गर्दै अब प्रचण्डलाई राष्ट्रवादी नेता भन्न नसकिने रिमालको भनाइ छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रचण्डभन्दा त लिङ्देल धेरै ठीक राष्ट्रियताको सवालमा ।’ उनले प्रचण्डतर्फ संकेत गर्दै अब राष्ट्रघातीहरुलाई धुलो चटाउनुपर्छ भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मैले पनि अघिल्लो चुनावमा प्रचण्डलाई मत मागेर हिँडेको थिएँ । त्यो बेठीक थिएन, तर अहिले आएर प्रचण्डबाट जुन गद्दारी भयो, म क्षमा चाहन्छु । अब यस्ता राष्ट्रघातीहरूलाई धुलो चटाउनु पर्छ ।’
उनले आक्रोश पोख्दै थप भनेका छन्, ‘अमेरिकाले मार्छ कि भनेर आत्महत्या गर्ने हो त ? हजारौं जनताका छोराछोरी तिम्रो आव्हानमा मारिन हुने तिमीहरूलाई मृत्यु त्यति भयानक ? अझ गोञ्जालोको फोटो राख्छौ तिम्रो खोरमा ! छिः सायद यिनी अब चुनावमा नउठ्लान् पनि ! गठबन्धनको बैशाखी टेकेर आउलान् ठीकै छ ।’