चितवन। चितवनको रत्ननगर महोत्सवलाई नेपाल बन्दको धक्का लागेको छ। हिजो (आइतबार) देखि सुरु भएको महोत्सवमा अवलोकनकर्ताको संख्या फाटफुट मात्रै देखिएको छ ।
गत पौष २७ देखि सुरु हुने भनिएको महोत्सव संचालनमा आउन नपाउँदै बन्द भएको थियो। उक्त महोत्सव पुनः संचालनमा आएपनि नेपाल बन्दका कारण धक्का पुगेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले चितवन प्रेससंग बताए। उनले भने, ‘हिजो देखि सुरु भएको महोत्सवमा सोचेभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा थियो। नेपाल बन्दका कारण अवलोकनकर्ता एकदमै न्यून छन्।’
उनका अनुसार कोरोनाका कारण थला परेको महोत्सवलाई बन्दको प्रभावले थप घाटा पुग्ने अनुमान गरिएको छ। यस अघि रत्ननगर महोत्सवको तयारी पुरा भइसकेको अवस्थामा महोत्सव महोत्सव रोक्दा करीब ७३ लाख रुपैयाँको घाटा भएको उनको भनाई छ।