चितवन । माडीका भित्री बाटोहरु कालोपत्रे गर्न तथा सितलपुर शहीदपार्क र बाँदरमुढे शान्तिपार्क निर्माण लागि शहरी विकास मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।
मन्त्रालयले माडी नगरपालिका वडा नं. १को सेरूवा-बनकट्टा हँुदै पाण्डवनगर सम्म र सो वडाकै बरूवा बजारदेखि वडा नं.२को भैरवपुर हुँदै चिरौली सम्म, वडा नं.२ को मध्य सित्तलपुर-वडा नं.४ घोसरी हुँदै एकता स्तम्भ सम्म, वडा नं.५ को बेलुवा-ढुकुरबारी-वडा नं.६ मझुवा हुँदै स्याउलीबास सम्म, वडा नं.७ को बाउनडोरी-पतरेखोला-मोटेचोक वडा नं.६ हरिनगर हुँदै कल्याणपुर सम्म, वडा नं.८ को एनसेल टावरदेखि कान्तिपुर सामुहिक खेती हुँदै बैकुण्ठ पार्क सम्मका सडकहरू कालोपत्रेका लागि बजेट स्वीकृत गरेको हो ।
त्यस्तै, वडा नं.२ स्थित सित्तलपुरको शहिद पार्क तथा वडा नं. ६ स्थित बाँदरमुढे शान्तिपार्कका लागि बहुबर्षे आयोजना अन्तर्गत यसबर्ष कार्य प्रारम्भ गर्नका लागि सघन सहरी विकास कार्यक्रम अन्तरगत रू.२० करोड बजेट समेत स्वीकृत भएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले सार्वजनिक गर्नुभयो ।
माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य समेत रहनुभएका पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहल र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ब्यवस्थापनमा माडीका लागि सो बजेट स्वीकृत भएको नगरप्रमुख ढकालले सामाजिक सञ्जालमार्फत जनाउनुभएको हो ।
भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु
जाडोयामका कारण डेढ महिनादेखि बन्द रहेको माडीको भित्री बाटो कालोपत्रे कार्य पुनः सुचारु भएको छ । माडी ६, कल्याणपुरदेखि वडा नं.५को मिलनचोक हुँदै ब्रह्मपुरी सम्मको १.८ कि.मि. लामो बाटो कालोपत्रे गर्ने कार्य सुरु भएको हो । माडी नगरपालिका र बागमती प्रदेश सरकारको साझेदारी कार्यक्रम अन्तर्गत २ करोड रुपैंयाको लागत योजनामा सो बाटो कालोपत्रे सुरु भएको वडाध्यक्ष रामबन्धु पोखरेलले बताउनुभयो ।स्वदेश एफएमबाट