तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सहकारीमार्फत बिक्री गर्दै आएका उनीहरुलाई उत्पादनको आधारमा प्रतिलिटर रु २.५० पैसाका दरले अनुदान दिन थालेको हो ।
गतवर्ष जिल्लाका बाह्रवटा सहकारीमार्फत रु ४५ लाख अनुदान रकम वितरण गरेकामा यस वर्षको लागि रु ४० लाख विनियोजन भइसकेको कार्यालयका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षका तुलनामा यसवर्ष बजेट कटौती भएका कारण बजेट घट्ने सो कार्यालयले जनाएको छ ।
किसानलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर अनुदान कार्यक्रम राखिएको हो । उहाँले भन्नुभयो,“दूधमा जिल्ला आत्मनिर्भर बनि बाह्य जिल्लामा समेत निर्यात गर्न सफल भइसकेकोले त्यसलाई कायम राख्न अनुदान कार्यक्रम लागू गरिएको हो ।” व्यास नगरपाकिामा सात हजार ५०० , बन्दिपुरमा ६ हजार ५००, भानुमा पाँच हजार ३००, शुक्लामा पाँच हजार दूध उत्पादन हुदैआएको छ ।
जिल्लामा वार्षिक तीन हजार ८०० मेट्रिक टन दूध उत्पादन हुँदैआएको उहाँले बताउनुभयो । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यक पर्ने भए पनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रतिव्यक्ति क्षमता पुगेको छ ।
त्यसैगरी, मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख, दूध तीन हजार ८०० मेट्रिक टन दूध वार्षिक उत्पादन हुदै आएको उहाँले बताउनुभयो । त्यसैगरी मासु प्रतिव्यक्ति वार्षिक रु १४ किलो आवश्यक पर्नेमा १४.१५ किलो रहेको छ, भने अण्डा प्रतिव्यक्ति ४८ पर्नेमा ८१ वटासम्म क्षमताको रहेको छ ।
त्यसैगरी माछा ९० मेट्रिक टन उत्पादन हुदै आएकोमा माछाको उत्पादन वृद्धिको लागि आवश्यक पहल भइरहेको सो कार्यालयले जनाएको छ । माछापालन किसानलाई प्रोत्साहन गर्न कार्यालयले पोखरी खन्न र माछाका भुरामा अनुदान लगायतका सुविधा प्रदान गर्दै आएको छ ।रासस